बूढीगङ्गामा मतदान कि मतगणना भन्ने विवाद कायमै

काठमाण्डु टुडे २०७९ जेठ ८ गते १३:४७ मा प्रकाशित

बाजुरा, ८ जेठ–  बाजुरा जिल्लाका आठ पालिकाको मत परिणाम आए पनि बूढीगङ्गा नगरपालिकाको मतदान गर्ने कि मतगणना गर्ने विषयमा भने विवाद छ । नगपालिकाका वडा नं २, ३, ५ र ९ वडामा नेपाली काँग्रेसले पुनः मतदान गर्न माग राखेको छ ।

एमालेले वडा नं ४ र ७ मा पनि मतदान हुनुपर्ने अडान लिएको छ ।  नेकपा एमाले भने नगरपालिकामा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएकाले मतगणना गर्न माग राख्दै आएको छ । नगरपालिकामा मतदान भएको एक साता बढी बितिसक्दासमेत आयोग अनिर्णित  हुँदा मतदातामा निराशा छाएको छ ।

वैशाख ३१ गते मुख्य निर्वाचन अधिकृतलाई पालिकाका निर्वाचन अधिकृत कृष्ण सापकोटाले राजीनामा बुझाएका थिए । धाँधली भएका वडामा काँग्रेसले पुनः मतदान गर्न माग गरिरहेको र एमाले मतगणना गर्न माग राख्दै आएको जनाइएको छ ।

बाजुराका पाँच पालिकामा एमाले, तीनमा काँग्रेस निर्वाचित
गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन अन्तर्गत जिल्लाका  आठ पालिकाको मत परिणाम सार्वजनिक भएको छ । जिल्लामा पाँच गाउँपालिका र चार नगरपालिकामध्ये तीनवटा नगरपालिका र पाँचवटा गाउँपालिकाको मत परिणाम सार्वजनिकसँगै  नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथग्रहण गर्दै आफ्नो पदभार ग्रहण गरेका छन् ।
जिल्लाका नौ पालिका नेकपा (एमाले) ले दुई नगरपालिका र तीन गाउँपालिका गरी पाँच पालिका विजयी हासिल गरेको छ । उसले बडीमालिका र बूढीनन्दा नगरपालिका सहित जगन्नाथ , गौमुल  र खप्तड छेडेदह गाउँपालिकामा विजय हासिल गरेको हो । काँग्रेसले त्रिवेणी नगरपालिका, हिमाली  र स्वामीकार्तिक खापर गाउँपालिका जितेको  जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।
विसं २०७४ को स्थानीय तह निर्वाचनमा काँग्रेसले चार नगरपालिका र दुई गाउँपालिकासहित छ पालिका र जिल्ला समन्वय समन्वय समिति जितेको थियो भने एमालेले तीन गाउँपालिका जितेको थियो । हालको निर्वाचनमा काँग्रेसले तीन पालिकामा चित्त बुझाउनुपरेको छ । एमालेले पाँच पालिका जितेपछि जिल्ला समन्वय समितिमा पनि एमालेले विजय हुने भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us