विकास साझेदारले अर्थमन्त्रीसँग भनेः नेपालमा लगानीको वातावरण बनेको छ

काठमाण्डु टुडे २०८१ वैशाख १७ गते २१:१८ मा प्रकाशित

काठमाण्डु, विकास साझेदार संस्थाहरूले नेपालमा लगानीको वातावरण बन्दै गएको बताएका छन् ।

तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) सहित विकास साझेदार संस्थाका प्रतिनिधिले सोमबार बिहान कार्यक्रम स्थल होटल सोल्टीमा अर्थमन्त्री वर्षमान पुन अनन्तसँग साइडलाइट वार्ता गरेका थिए ।

त्यस क्रममा उनीहरूले सरकारले हालैमात्र कानुनी र प्रक्रियागत सुधारका लागि चालेका कदमले लगानीको वातावरण बनाएको बताए। यस्तै उनीहरूले सत्तारुढ र प्रतिपक्षी दलबीच विकासबारे समान धारणाको खुलेरै प्रशंसा गरे ।

सम्मेलन उद्घाटन सत्रमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विकासका एजेण्डामा नेपालका सबै दलसँगै रहेको प्रतिबद्धता जनाएकोतर्फ उनीहरूको संकेत थियो ।

उनीहरूले कानुनी र प्रक्रियागत सुधारबारे आगामी दिनमा पनि ख्याल गर्न सुझाए। नेपालका दलहरूमा देखिएको विकास र लगानीप्रतिको ऐक्यबद्धताले लगानीकर्तामा उत्साह थपिएको उनीहरूको भनाइ थियो।

बैठकमा मन्त्री पुनका साथै मुख्य सचिव बैकुण्ठ अर्याल, अर्थसचिव मधुकुमार मरासिनी, राजस्व सचिव डा रामप्रसाद आचार्य, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र मन्त्रालयका सह–सचिवद्वय श्रीकृष्ण नेपाल र धनीराम शर्मालगायत सहभागी थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us