काठमाण्डू, २ साउन– फिफा विश्वकप ०२६ को फाइनलअघि अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फेरि एकपटक आफ्नो विश्वव्यापी लोकप्रियताको झल्को दिएका छन ।
न्यूयोर्कमा आयोजित फ्यानाटिक्स फेस्ट कार्यक्रममा अमेरिकी फुटबलका महान् टम ब्रेडी, टेनिसका सर्वाधिक ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच र बास्केटबलका चार पटकका ओलम्पिक स्वर्ण पदक विजेता केभिन डुरान्टजस्ता खेलकुदका सुपरस्टारहरू पनि मेसीसँग सेल्फी खिच्न उत्साहित देखिएका थिए ।
आइतबार न्यु जर्सीको इस्ट रदरफोर्डमा हुने विश्वकप फाइनलमा अर्जेन्टिनाले स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । विश्वभर करिब १.५ अर्ब दर्शकले यो खेल हेर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा मेसीले छोटो प्रतिक्रिया दिँदै भने, ‘हामी आफ्नो सम्पूर्ण शक्ति लगाएर खेल्नेछौं ।’ फिफाले विश्वकप फाइनलअघिको परम्परागत पत्रकार सम्मेलनलाई यसपटक न्यूयोर्कमा चार दिनसम्म चलेको फ्यानाटिक्स फेस्टसँग जोडेको थियो ।
खेलाडी, प्रशिक्षक तथा विश्वप्रसिद्ध खेल व्यक्तित्वहरू एउटै मञ्चमा उपस्थित हुँदा सयौं समर्थकले मेसीलाई प्रत्यक्ष देख्ने अवसर पाए । स्पेनका कप्तान रोड्रीले मेसीको खुलेर प्रशंसा गर्दै भने, ‘मेसी खेलाडीका रूपमा मात्र होइन, अर्जेन्टिनाका लागि पनि शब्दमा बयान गर्न नसकिने व्यक्तित्व हुन्। मेरो नजरमा उनी सर्वकालीन महान् खेलाडी हुन्।’