एजेन्सी- ट्रम्प प्रशासनले इरानविरुद्ध सम्भावित सैन्य कारबाही बढाउनका लागि इजरायलमा दर्जनौं थप रिफ्युलिङ प्लेन पठाउने तयारी गरेको छ ।
तीन जना अमेरिकी र इजरायली अधिकारीहरूले यो कुराको पुष्टि गरेको एक्सियोसको रिपोर्टले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘सिचुएसन रुम’ मा नयाँ सैन्य योजनाहरू हेरेपछि इरानमा ठूलो आक्रमण गर्ने विचार गरिरहेका छन् । यो आक्रमण हर्मोज स्ट्रेट वरपर भइरहेका अहिलेका स्ट्राइकहरू भन्दा धेरै ठूलो हुने सम्भावना रहेको छ ।
अमेरिकी सरकारले इरानका ऊर्जा प्लान्ट जस्ता पूर्वाधार र आणविक फ्यासिलिटीहरूमा बमबारी गर्ने विकल्पहरूमाथि छलफल गरिरहेको छ। ट्रम्पले अहिलेसम्म अन्तिम निर्णय भने गरेका छैनन् ।
इरानले हर्मोज स्ट्रेट खोलोस् र आणविक मागहरू पूरा गरोस् भन्नका लागि ट्रम्प युद्ध बढाउन तयार देखिएका छन्। अमेरिकी र इजरायली अधिकारीहरूका अनुसार ट्रम्पले आउँदा दिनहरूमा यो आदेश दिन सक्छन् ।
बिहीबार अमेरिकी सेनाले हर्मोज स्ट्रेट र इरानको दक्षिणी तटमा लगातार पाँचौं दिन पनि आक्रमण गरेको छ। अमेरिकी सेनाले बन्दर अब्बास सहर वरपरका कम्तीमा सातवटा पुलहरूमा बमबारी गरेको छ ।
बन्दर अब्बासलाई इरानी रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी) को मुख्य अखडा मानिन्छ। यही सहरबाट हर्मोज स्ट्रेटका अन्य भागहरूमा हतियार र थप सैनिकहरू पठाइने गरिन्छ ।
इरानले पनि जोर्डन, कतार, बहराइन, इराक र कुवेतमा रहेका अमेरिकी बेसहरूमा आक्रमण तीव्र पारेको छ। आईआरजीसीले सिरियामा रहेको अमेरिकी बेसमा पनि आक्रमण गरेको दाबी गरेको छ। तर अमेरिकी सेनाले केही महिना अघि नै सो बेस छोडिसकेको थियो ।