झापामा कारको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको ज्यान गयो

काठमाण्डु टुडे २०८३ साउन २ गते १०:४१ मा प्रकाशित

काठमाडौं- झापाको गौरीगञ्जमा कारले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज–२ स्थित कृष्ण खोला नजिक भएको दुर्घटनामा मोरङको रतुवामाई नगरपालिका–५ गोविन्दपुरका ३० वर्षीय मोहम्मद नुर इस्लाम र ३५ वर्षीय एनबी मोजाबुल हकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इस्लाम मोटरसाइकल चालक थिए भने हक पछाडि सवार थिए ।

प्रहरीका अनुसार पूर्वतर्फ गइरहेको प्र१–०२–००२ च ५१०१ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको बीआर३८एच ५५४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएका इस्लामको दमक अस्पतालमा उपचारका क्रममा दिउँसो २:४० बजे मृत्यु भएको थियो । पछाडि सवार हकको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा दिउँसो ३:१० बजे ज्यान गएको हो ।

दुर्घटनापछि कार चालक विराटनगर महानगरपालिका–१३ का ३५ वर्षीय विवेक सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us