महाराजगन्जमा पाँच सवारीसाधन ठोक्किँदा १० जना घाइते, भारतीय नम्बरको कार पनि दुर्घटना

काठमाण्डु टुडे २०८३ साउन २ गते ९:१८ मा प्रकाशित

काठमाडौं-काठमाडौंको महाराजगन्जस्थित चक्रपथमा शुक्रबार साँझ पाँच वटा सवारीसाधन एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् ।

दुर्घटनामा भारतीय नम्बर प्लेटको कारसमेत संलग्न रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चाबहिलबाट चक्रपथतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बीआर ०६ डीडी ६०६३ नम्बरको कार, बा २ ज ३५७८ नम्बरको ट्याक्सी, लु ११ प ४९७५ नम्बरको मोटरसाइकल, बा ७३ ज ३७२३ नम्बरको ट्याक्सी तथा बागमती प्रदेश ०२–०६८ प १०५६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका हुन् ।

दुर्घटनामा घाइते भएका सबै १० जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये काठमाडौंको बसुन्धाराकी ६५ वर्षीया कुन्तिमाया लिम्बूको अवस्था गम्भीर रहेको छ भने अन्य नौ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा मनमैजुकी १५ वर्षीया सिवानी शाही, उनका १० वर्षीय भाइ सुशान्त शाही, ललितपुरका बिकी साह, भक्तपुरका उर्जा लामा, ललितपुर इमाडोलका निउजित, बसुन्धाराकी विष्णुमाया खापुङ, थानकोटकी पार्वती तामाङ, उदयपुरका विनोद थापा मगर र नवलपुरका जीवन राना मगर रहेका छन् ।

दुर्घटनापछि प्रहरीले घटनामा संलग्न सबै सवारीसाधन नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us