काठमाण्डू, २ साउन– स्पेनका मिडफिल्डर मिकेल मेरिनोले विश्वकप फाइनलमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई रोक्नु आफ्नो टोलीका लागि ‘विशाल चुनौती’ हुने बताएका छन ।
शुक्रबार न्यू जर्सीको इस्ट हानोभरस्थित स्पेनको प्रशिक्षण शिविरमा सञ्चारकर्मीसँग कुरा गर्दै मेरिनोले अर्जेन्टिनाविरुद्ध खेल्नु नै थप प्रेरणादायी भएको बताएका छन । ‘यो हाम्रो टोलीका लागि ठूलो चुनौती र अविश्वसनीय प्रेरणा हो ।
यसअघि नै विश्वकप जितिसकेको अर्जेन्टिनाजस्तो टोलीसँग खेल्न पाउनु फाइनललाई अझ विशेष बनाउँछ। यस्तो क्षण अनुभव गर्न पाउँदा म निकै खुसी छु,’ मेरिनोले भने ।
३९ वर्षीय मेसीले यस विश्वकपमा साविक विजेता अर्जेन्टिनालाई फाइनलसम्म पुर्याउन निर्णायक भूमिका खेलेका छन् । उनले सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध २–१ को जित दिलाउने क्रममा दुई गोलका लागि अवसर सिर्जना गरेका थिए ।
विश्वकपमा आठ गोलसहित संयुक्त रूपमा सर्वाधिक गोलकर्ता रहेका मेसीले अन्तिम १६ मा इजिप्टविरुद्ध पनि अर्जेन्टिनाको ऐतिहासिक पुनरागमन गराएका थिए । उक्त खेलमा अर्जेन्टिना खेल सकिन ११ मिनेट बाँकी रहँदा २–० ले पछि परेको अवस्थाबाट फर्केर ३–२ ले विजयी भएको थियो।