कैलास सिरोहियाको प्रष्टीकरणः मैले दुईटा नागरिकता लिएको छैन

काठमाण्डु टुडे २०८१ वैशाख १७ गते २१:३२ मा प्रकाशित

काठमाण्डु, १७ वैशाख–कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफूले दुइवटा नागरिकता नलिएको प्रष्टीकरण दिएका छन् ।

सिरोहियाले सोमबार विज्ञप्ति जारी गर्दै दुईवटा नागरिकता लिएको भन्ने प्रचारबाजीबारे आफ्नो ध्यानाकार्षण भएको बताए । यसअघि धनुषा प्रहरीमा उनको र अर्को व्यक्तिको नागरिकता नम्बर मिलेको भन्दै जाहेरी परेको थियो ।

सिरोहियाले आफूले २०३४ सालमा नागरिकता र २०५७ सालमा प्रतिलिपि लिएको भन्दै दुईवटा नागरिकता नलिएको स्पष्ट पारेका छन् ।

‘नागरिकताका विषयमा उजुरी परेको भन्ने चर्चाप्रति मेरो ध्यानाकर्षण भएको छ। मैले २०३४ मा नागरिकता लिएकामा नेपाली कागजको प्रति पुरानो भएकाले २०५७ मा प्रतिलिपि लिएको हुँ’, उनले भनेका छन्, ‘जसमा २०३३/0३४ को प्रतिलिपिअनुसारु भनेर स्पष्ट उल्लेख छ । नम्बर पनि उही छ । मैले अरू नागरिकता लिएको छैन ।’

आफूभन्दा पछि कसैले लिएको नागरिकताको नम्बर आफ्नोसँग मेल खाएको विषयमा आफूले जिम्मा लिनुनपर्ने उनको भनाइ छ ।

‘२०३४ मा मैले नागरिकता लिएपछि २०३६ मा अरू कसैका नाममा त्यही नम्बर लेखिएको छ भने मेरो जिम्मेवारीको विषय होइन,’ विज्ञप्तिमा उनले भनेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us