गगन थापा र रवि लामिछानेको जुहारीः दुवैले गरे राजनीति छाड्ने घोषणा !

काठमाण्डु टुडे २०८१ वैशाख २८ गते २०:११ मा प्रकाशित

काठमाण्डु, २८ वैशाख– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सूर्यदर्शन सहकारीबाट आफूले निवेदन दिएर ऋण लिएको प्रमाणित भए राजनीति छाड्ने बताएका छन् ।

लामिछानेले सर्वसाधारण बचतकर्ताको निक्षेप हिनामिना गरेको सहकारी ठगी छानबिनका लागि संसदीय समिति गठनको माग राखेर काँग्रेसले संसद अवरुद्ध गरेपछि शुक्रबार संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै आरोप प्रमाणित भए राजनीति छाड्ने बताएका हुन् ।

उनले संसद बैठकमा आफूबारे प्रमाण रहेको भन्दै बोलेका काँग्रेस महामन्त्री गगन थापालाई आरोप प्रमाणित गर्न चुुनौती दिए । यदि आरोप पुष्टि नभए गगनले राजनीति छाडनुपर्ने उनको सर्त थियो ।

‘मैले निवेदन दिएर ऋण मागेको प्रमाण दिनुभयो भने म राजनीति छोडिदिन्छु’, उनले भने, ‘ दिन नसके गगनजीले राजनीति छाड्नुपर्छ ।’ लामिछानेले आफू सबैभन्दा बढी मत ल्याएर निर्वाचित सांसद भएको भन्दै संसदमा बोल्न पाउनुपर्ने बताए । अर्कै दलको सांसदलाई बोल्न नदिने निर्णय फरक दलले कसरी गर्न मिल्छ भन्ने प्रश्न उनको थियो । ‘सबैभनद्या बढी मत ल्याएर निर्वाचित भएको जनताको प्रतिनिधिले एकपटक सदनमा उभिएर जवाफ दिने अवसर पाउँदैन ?’, उनले प्रश्न गरे ।

लामिछानेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिएका थापाले लामिछाने सहकारी ठग भएको जिकिर गरे । उनले लामिछानेले धेरै प्रमाण सत्ता र शक्तिको आडमा नष्ट गरेको भन्दै त्यसका बाबजुद पनि बाँकी रहेका प्रमाण नै लामिछाने सहकारी गठीमा संलग्न रहेको पुष्टि गर्न पर्याप्त रहेको दाबी गरे ।

उनले आफूले राजनीति गर्ने कि नगर्ने भन्ने सामान्य विषय रहेको भन्दै संसदीय छानबिन समितिबाट निर्दोष साबित भएर सिंगो काँग्रेसलाई लज्जित हुने अवस्था बनाइदिन लामिछानेलाई सुझाए । ‘म त राजनीति छाडौंला केही भएन’, उनले भने, ‘मलाई मात्र किन संसदीय छानबिन समितिबाट हामीले उठाएको विषय गलत प्रमाणित गरेर सिंगै काँग्रेसलाई लजित बनाइदिनुस् न ।’

थापाले विगतमा प्रश्न उठ्न उठेपछि डा. रामशरण महत, विष्णु पौडेल र जनार्दन शर्माबारे छानबिन गर्न पनि समिति गठन भएको दृष्टान्त प्रस्तुत गरे । थापाले लामिछानेले सहकारी ठगी गरेका पुष्टि हुने आधार धेरै रहेको भन्दै संसदीय समिति गठन नभएसम्म संसद चल्न नदिने बताए । काँग्रेस संसदमा मात्र सीमित नहुने र सडकमा पनि आउने चेतावनी उनले दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us