सकारले क्रिकेट खेलाडीलाई जनही १३ लाख दिने

काठमाण्डु टुडे २०८१ वैशाख २७ गते १७:५९ मा प्रकाशित

काठमाण्डु, २७ वैशाख– नेपाल सकारले राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई जनही १३ लाख रुपैयाँ प्रदान गर्ने भएको छ । आज बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले कुल २ करोड ९७ लाख १० हजार नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।

युवा तथा खेलकुद मन्त्रालयले पेस गरेको प्रस्तावलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेसँगै १९औं एसियन गेम्समा पदक विजेता, क्रिकेट टिम र पारा तेक्वान्दो खेलाडी तथा प्रशिक्षकले नगद पुरस्कार पाउने भएका हुन् ।

गत नोभेम्बरमा घरेलु मैदानमा आईसीसी टी २० विश्वकप एसिया क्षेत्र फाइनलमा पुग्दै दोस्रो भएको नेपाल क्रिकेट टिमले कुल २ करोड ४ लाख ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ । १५ खेलाडीले जनही १३ लाख, प्रमुख प्रशिक्षक मोन्टी देशाईले ३ लाख ९० हजार, टिम व्यवस्थापक सुमनराज कार्की, सहायक प्रशिक्षक वसन्त शाही र फिजियो विक्रम न्यौपानेले जनही १ लाख ९५ हजार पाउने भएका छन ।

१९ औं एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत दिलाउन सफल एरिका गुरुङले १९ लाख ५० हजार प्राप्त गर्नेछिन् । प्रमुख प्रशिक्षक कुशल श्रेष्ठले २ लाख ३४ हजार, सहायक प्रशिक्षकहरू छोरी डंगोल र वीरकृष्ण शाही तथा व्यवस्थापक निवास गोपाल वौले १ लाख ९५ हजार प्राप्त गर्नेछन् ।

एसियन गेम्समा रजत विजेता कराँते टिमले कुल २५ लाख ३५ हजार प्राप्त गर्नेछ । एसियाली खेलकुदमा नै कबड्डीमा कास्य जित्ने नेपाली राष्ट्रिय महिला कबड्डी टिमका १२ खेलाडीले जनही ३ लाख ९० हजार, प्रमुख प्रशिक्षक पार्वती राईले २ लाख ६० हजार तथा सहायक प्रशिक्षक विष्णुदक्त भट्ट र व्यवस्थापक डिल्लीराम काफ्लेले जनही १ लाख ३० हजार प्राप्त गर्नेछन् ।

यसरी कबड्डी टिमले कुल ४८ लाख १० हजार नगद प्राप्त गर्नेछन् । यसैगरी चौथो एसियाली पारा खेलकुद २०२२ मा कास्य जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले १३ लाख प्राप्त गर्नेछिन् ।

प्रमुख प्रशिक्षक कविराज नेगी लामाले २ लाख ६० हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठले १ लाख ३० हजार प्राप्त गर्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us