हिमालय टिभीको गेटमा राखिएको गाडीको अभिलेख भेटियो, सवारी धनी भेटिएन

काठमाण्डु टुडे २०८३ असार २९ गते १५:३३ मा प्रकाशित

काठमाण्डू, २९ असार– विभिन्न मिडिया हाउसमा सोमबार बिहानदेखि शंकास्पद राखिएका गाडीबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

त्यसक्रममा हालसम्म मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको गेट अवरोध गर्दै पार्किङ गरिएको गाडीको विवरण खुलेको छ ।त्यहाँ पार्किङ गरिएको बा. १२ च १२५५ नम्बरको गाडी अग्नि इनकर्पोरेट डी प्रालिका नाममा रहेको यातायात व्यवस्था विभागको अभिलेखमा भेटिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

अग्नि इनकर्पोरेट डी प्रालि सवारी साधनको अधिकृत विक्रेता कम्पनी हो । उक्त कम्पनीले कोही व्यक्तिलाई बिक्री गरेको र त्यसको किस्ता भुक्तानी पूरा नहुँदासम्म उक्त कम्पनीकै नाममा देखिएको अनुसन्धानरत प्रहरीले जनाएका छन् ।

यातायात व्यवस्था कार्यालयको ढड्डामा गाडी धनीको सम्पर्क नम्बर छैन । उक्त गाडीका ऋणी, अर्थात् अग्नि इनकर्पोरेट डी प्रालिसँग गाडी खरिद गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

अन्य गाडी धनीको पहिचानका लागि बागमती प्रदेश सरकारअन्तर्गत रहेका यातायात कार्यालयबाट विवरण लिने प्रयास भइरहेको प्रहरीको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us