काठमाण्डू, २९ असार– प्रतिपक्षी दल एमालेले विभिन्न सञ्चारमाध्यमका कार्यालयको मूल गेटमै शंकास्पद रूपमा गाडीहरू पार्किङ गरी पत्रकार तथा सञ्चारकर्मीहरूलाई काममा जान अवरोध सिर्जना गरेर आतंकित पारिएको भन्दै भर्त्सना गरेको छ ।
आज (सोमबार) एक विज्ञप्ति जारी गर्दै एमालेले यो आज बिहानैदेखि तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन, नयाँ बानेश्वरको अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय गेटमा सवारी साधन तेर्स्याएर पत्रकारहरूको आवतजावत ठप्प पारिएको कार्य लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार रहेको भन्दै आपत्ति समेत जनाएको छ ।
स्वतन्त्र रूपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने संवैधानिक अधिकारको सुनिश्चितता गर्नु राज्यको दायित्व रहेको उल्लेख गर्दै एमालेले भनेको छ, ‘सञ्चारगृह र पत्रकारलाई भयभित बनाउने र काममा अवरोध पुर्याउने यो निन्दनीय र रहस्यमय घटनाको भर्त्सना गर्दछौँ ।’
एमालेले यस घटनाका सम्बन्धमा नेपाल पत्रकार महासंघले अघि सारेका मागहरूलाई पूर्ण समर्थन गर्नेसमेत जनाएको छ ।