सभामुखको बालेन लक्षित घोषणाः औपचारिक पोशाक नलगाई संसदको रोष्ट्रम प्रयोग गर्न नदिने, बैठक चलेका बेला हिंडन नपाइने

काठमाण्डु टुडे २०८३ असार २३ गते १९:१९ मा प्रकाशित

काठमाण्डु– सभामुख डोलप्रसाद अर्यालले साउनदेखि औपचारिक पोशाक र लोगो नलगाउने सांसदलाई संसदको रोष्ट्रम प्रयोग गर्न नदिने चेतावनी दिएका छन् ।

प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिमा मंगलबार संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक र सचेतकलाई त्यस्तो निर्देशन दिएका हुन् ।

सांसदहरू अर्मादित ढंगले प्रस्तुत हुने क्रम बढेर गएको उनको भनाइ थियो ।

‘अबदेखि सांस्कृतिक पहिरन वा कोट नलगाउनेलाई रोष्ट्रम प्रयोग गर्न दिन्न’, अर्यालले भने, ‘संसदको मर्यादा कायम हुनुपर्छ, संसदमा जे लगाएर पनि आउन पाइँदैन ।’

प्रतिनिधि सभा नियमावलीमा कार्यव्यवस्था परामर्श समितिको सुझावमा सभामुखले पोशाक कस्तो लगाउने भन्नेबारे तोक्न सक्ने व्यवस्था छ । नियमावलीमा सांसदले मर्यादित पोशाक लगाउनुपर्ने भनिएको छ ।

यस्तै बैठक चलिरहेका बेला संसद् बैठक कक्षको भित्र बाहिर गर्नसमेत रोक लगाउने उनको भनाइ रहेको बैठकमा सहभागी एक प्रमुख सचेतकले भने ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संसदमा ‘क्याजुअल’ पोशाक र गोल्ड स्टार जुत्ता लगाएर आएको विषयमा धेरैले आलोचना गरेका थिए ।

अर्यालले प्रधानमन्त्रीको नाम उल्लेख नगरे पनि त्यतातिर समेत संकेत गरेको अनुमान गरिएको छ ।

विपक्षी दलका सांसदहरुले संसदमा मर्यादित पोशाक लगाएर आउनका लागि रुलिङ गर्न सभामुख अर्यालको ध्यानाकर्षण गराउँदै आएका छन् ।

यस्तै प्रधानमन्त्री शाह राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम बाचन गरिरहेका बेला संसद् बैठक बीचैमा छाडेर हिंडेका थिए ।

अर्यालले प्रधानमन्त्रीको नाम नलिए पनि बैठक चलिरहेका बेला भित्रबाहिर गर्न रोक लगाइने घोषणा गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us