पर्वत– पर्वत प्रहरीले सञ्चालन गरेको स्वीप अपरेसनका क्रममा सामुदायिक वनभित्र लुकाएर राखिएका ६ थान अवैध भरुवा बन्दुक बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार मंगलबार पैयूँ गाउँपालिका–६ स्थित बाहुनडाँडा सामुदायिक वन क्षेत्रमा खोजतलास गर्ने क्रममा बेवारिसे अवस्थामा ती बन्दुक फेला परेका हुन् ।
प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार बन्दुकहरू जंगलभित्र लुकाइछिपाइ राखिएको अवस्थामा भेटिएका थिए । बरामद गरिएका सबै हतियार कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय हुवासको जिम्मामा राखिएको छ ।
प्रहरीले जिल्लाभर अवैध हतियार खोजी तथा नियन्त्रणका लागि स्वीप अपरेसनलाई निरन्तरता दिएको जनाएको छ । सोही अभियानअन्तर्गत हालसम्म विभिन्न स्थानबाट २९ थान बेवारिसे भरुवा बन्दुक बरामद भइसकेका छन् ।