के नेपालमा कम्युनिस्ट आन्दोलनले आफ्नो आत्मा बचाउन सक्ला ? नेपाली राजनीतिमा फेरी एकपटक ‘बाम एकता’ चर्खा घुम्न शुरु गरेको छ । कुनै समय यस्तो थियो, जब एमाले-माओवादीको संयुक्त शक्ति नेकपाको रूपमा संसदमा १७४ सिटसम्म पुग्यो । त्यो किन्तु सिटको संख्या मात्र थिएन, त्यो जनताको अवस्था बदलिने, राजनीतिक स्थायित्व आउने र स्थापित राजनीतिक शक्तिले देशलाई नयाँ युगमा लैजाने भरोसाको दियो थियो ।
तर आज त्यही राजनीतिक धाराको संयुक्त उपस्थि तल्लो सदनमा ४२ सिटमा सीमित देखिन्छ । तव प्रश्न उठ्छ – शक्तिशाली भनिएको कम्युनिस्ट आन्दोलन किन यति छिटो स्खलित भयो? किन कम्युनिस्ट पार्टीहरू खुम्चिँदै, फुट्दै, विलय हुँदै गए? र किन कम्युनिस्ट आन्दोलन आफैं आफ्नो आधारभूमिबाट टाढिँदै गयो? यसको उत्तर केवल “गठबन्धन फुट्यो” भनेर पुग्दैन ।यसको उत्तर कम्युनिस्ट चरित्रको क्षयमा छ । विचार कमजोर भयो, संस्कार कमजोर भयो, संगठन कमजोर भयो र जनतासँगको नैतिक सम्बन्धको धरातल पनि कमजोर हुँदै गयो ।
त्यसैले आज फेरि ‘बाम एकता’ को कुरा उठ्दा प्रश्न यहींबाट सुरु हुन्छ । यो विचारको पुनर्जागरण हो कि सत्ता पुनर्प्राप्तिको अर्को उपाय मात्र हो? यो वर्तमानको समस्यासँग जुध्न तयार वैचारिक एकता हो कि इतिहासमा बाँचेको राजनीतिक धङधङ्गि? नेपाली समाजले साँच्चै वाम आन्दोलनको पुनर्जन्म खोजेको हो कि नेताहरूले पराजय लुकाउने नयाँ आवरण मात्र खोजेका हुन्?
यो प्रश्न चर्को छ किनभने नेपाली जनताले कम्युनिस्ट आन्दोलनको वास्तविक अर्थ अझै पनि पूर्ण रूपमा बुझेका छैनन् भन्ने कटुसत्य स्वीकार गर्नैपर्छ । तर यो जनताको मात्र कमजोरी होइन । यो स्वयं कम्युनिस्ट दलहरूको वैचारिक असफलता पनि हो । कम्युनिस्ट आन्दोलन चुनाव जित्ने र सत्ता कव्जा गर्ने सजिलो मेसिन होइन, यो सत्तामा पुग्ने छोटो बाटो पनि होइन परन्तु कम्युनिस्ट आन्दोलन भनेको विचार, अनुशासन, अध्ययन, वर्गीय चेतना, श्रमप्रतिको सम्मान, सामूहिकता, त्याग र जनताको पक्षमा खडा हुने र जिवनपर्यनन्त खडा भईराख्ने एक साहस हो । कम्युनिस्ट हुनु भनेको केवल झण्डा बोकेर नाराबाजी गर्नु होइन यो एउटा जीवनशैली, एउटा वैचारिक संस्कार र एउटा नैतिक जिम्मेवारी हो ।
समाजलाई सतही होइन, भित्री तहबाट बुझ्ने,समाजको वर्गीय संरचनाको विश्लेषण गर्ने, शोषणको चरित्र बुझ्ने र व्यक्तिगत लाभभन्दा सामूहिक हितलाई माथि राखेर निर्णयगर्ने समाजलाई वुझ्ने व्यख्या गर्ने र समाज रुपान्तरण गर्ने, वाद, प्रतिवाद र संवादबाट सामाजिक समस्याहरुको हल गर्ने आदर्शात्मक व्यवहारको सार नै कम्युनिजम हो । यो फेसन होइन, यो जनजीवन बुझ्ने दृष्टि हो । यो शक्ति आर्जनको नारा होइन यो सामाजिक न्यायको एक विशाल परियोजना हो ।
संसारका धेरै क्रान्तिकारी आन्दोलनहरू युवाहरुको पहलकदमि र नेतृत्वबाटै अगाडि बढेका छन् । रूसी क्रान्तिदेखि चिनियाँ क्रान्तिसम्म, क्युबाली क्रान्तिदेखि नेपालका विभिन्न स्वतन्त्रताको आन्दोलनसम्म आइपुग्दा युवा पुस्तानै वैचारिक परिवर्तनको प्रधानशक्ति बनेको स्पष्ट देखिन्छ । जेन्जी पुस्ता पनि कम्युनिस्ट विचारबाट टाढा छैन बरु उनीहरूको जीवनशैलीभित्रै वाम चेतनाका धेरै विशेषताहरु विधमान छन् ।
उनीहरू असमानताको विरोध गर्छन्, श्रमको सम्मान खोज्छन्, अवसरमा समान पहुँच चाहन्छन्, भ्रष्टाचार, नातावाद, कृपावाद र वंशवादप्रति उनीहरूमा घृणा छ । राज्यले शिक्षा, स्वास्थ्य, रोजगारी र आधारभूत सेवाको सुनिश्चितता गर्नुपर्छ भन्ने उनिहरु कल्पना गर्छन । उनीहरूभित्र विद्रोह छ, प्रश्न छ, असन्तोष छ, र अन्यायप्रतिको आक्रोश छ । वस्तुगत रूपमा हेर्दा, यी सबै तत्त्वहरू वाम चेतनाकै आधार हुन् ।
तर एउटा अर्को महत्वपूर्ण कुरा पनि छ, कम्युनिस्ट बन्न भावनाले मात्र पुग्दैन – अध्ययन चाहिन्छ । अध्ययन बिनाको विचार नारामात्र बन्छ । संस्कार सहितको संगठन बन्दैन । त्यसैले कम्युनिस्टहरू पढ्ने, बहस गर्ने, आलोचना गर्ने, आत्मालोचना गर्ने र समाजको संरचना बुझ्ने मानिस हुनुपर्छ । यदि अध्ययन संस्कृतिलाई पुनर्जीवित गर्न सकिएन भने भविष्यमा कम्युनिस्ट आन्दोलन केवल भिडतन्त्रमा सीमित हुनेछ ।
जब जनताले एकता केवल चुनाव जित्ने अंकगणितका लागि भएको अनुभूति गर्छन् तब त्यसले प्रेरणा होइन अविश्वास जन्माउँछ । बाम एकताको चर्चा चल्दा जेन्जीले सोध्ने प्रश्न एकदम सरल छ ‘यदि विचार मिलेको थियो भने फुट किन भयो ? अनि अहिले फेरि मिल्ने हो भने पहिले किन अलग हुनुपर्यो ?’ प्रश्न सिधा छ, तर जवाफ सजिलो छैन । किनभने समस्या केवल दलभित्रको झगडा होइन समस्या आन्दोलनको विचलन हो ।
अहिलेको वाम राजनीति धेरै हदसम्म आन्दोलनको आत्माबाट टाढिएर सत्ता व्यवस्थापनमा सीमित भएको छ । युवाले कम्युनिस्ट पार्टीभित्र श्रमिक वर्गको प्रतिनिधित्वभन्दा बढी सत्ताको गणित देखिरहेका छन् । त्यागभन्दा बढी सुविधा देखिरहेका छन, अध्ययनभन्दा बढी नाराबाजी देखिरहेका छन्, वैचारिक प्रशिक्षणभन्दा बढी भीड व्यवस्थापन देखिरहेका छन् । जब पार्टी स्वयंले कम्युनिस्ट संस्कार उत्पादन गर्न छोड्छ तब संगठनहरू केवल भीड बटुल्ने संरचनामा स्खतित हुन्छन् । त्यसपछि आन्दोलनले कार्यकर्ता त बनाउँछ तर विचारशील नेतृत्व उत्पादन गर्न सक्दैन ।
अनेरास्ववियु, ने.बि. संघ, अखिल क्रान्तिकारी जस्ता विध्यार्थी संगठनहरूले हजारौँ युवा कार्यकर्ता उत्पादन गरे । तर तीमध्ये कति युवाले मार्क्स पढे ? लेनिन बुझ्ने प्रयास कति गरे ? पुष्पलाल वा मदन भण्डारीको वैचारिक योगदान कति गहिराइमा अध्ययन गरे ? विपि वारे कतिलाई थाहा छ ? नेपाली समाजको वर्गीय संरचना तिनले कति बुझ्न सके ? समाजवाद बारे कति युवा जानकार छन? कति युवाले कम्युनिजमको दार्शनिक आधार, यसको ऐतिहासिक विकास, यसको कमजोरी र सम्भावना अध्ययन गरे ?
कति युवाले पार्टीभित्र आलोचना र आत्मालोचनाको अभ्यास गरे? यदि युवा संगठनहरु केवल पोस्टर टाँस्ने, जुलुस मिलाउने, र शक्ति प्रदर्शन गर्ने औजारमात्र बन्ने हो भने भविष्यमा कम्युनिस्ट आन्दोलन वैचारिक रूपमा खोक्रो बन्ने निश्चितप्राय छ ।
विश्वराजनीति फर्केर हेर्दापनि यही सत्य भेटिन्छ । ल्याटिन अमेरिकामा वाम आन्दोलन त्यतिबेला पुनर्जीवित भयो जब त्यसले सत्ता भन्दा रोजगारी, शिक्षा, स्वास्थ्य, असमानता, राष्ट्रिय स्वाभिमान र सामाजिक सुरक्षा जस्ता जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिने मुद्दा उठायो ।
अमेरिकाजस्तो पूँजीवादी देशमै बर्नी स्यान्डर्सले लाखौं युवालाई inequality, student debt, healthcare जस्ता मुद्दालाई जीवनसँग जोडेर प्रस्तुत गरी आकर्षित गर्न सके । Spain को Podemos ले युवापुस्तालाई त्यसैले तान्न सक्यो,किनभने उनीहरूले social media, digital debate, grassroot participation र वैकल्पिक राजनीतिक भाषा प्रयोग गरे । Chile मा पनि युवा आन्दोलनबाट नयाँ वामपन्थी नेतृत्व जन्मिन सक्यो किनभने त्यहाँ युवालाई केवल ‘कार्यकर्ता’ होइन ‘भविष्यको नेतृत्व’ मानियो ।
यहाँ वाम राजनीति अझै पनि पुरानो भाषण, पुरानै अनुहार र पुरानै सत्ता समिकरणमा अड्किएको छ । जेन्जीलाई भाषण होइन, प्रमाण चाहिन्छ । उनीहरूलाई ‘हामी कम्युनिस्ट हौँ’ भनेर ट्यागले पुग्दैन, व्यवहारमा कम्युनिस्ट चरित्र देखिनुपर्छ । यदि कम्युनिस्टहरू नै विलासिता, अवसरवाद, व्यक्तिगत लाभ अनि शक्ति सन्तुलनको खेलमा रमाउने हो भने, युवाले वाम आन्दोलनलाई किन र कसरी आकर्षित गर्न सक्छ ?
आज नेपालका हजारौं युवा विदेश पलायन भइरहेका छन् । शिक्षित पुस्ता देशप्रति निराश बन्दै छ । विश्वविद्यालयहरू वैचारिक उत्पादन केन्द्र बन्नुपर्ने ठाउँमा बेरोजगार उत्पादन गर्ने कारखानाजस्तो भएका छन् । यस्तो बेला यदि वाम आन्दोलनले युवालाई विचार, उद्देश्य, र भविष्य दिन सकेन भने नेपालमा कम्युनिस्ट आन्दोलन इतिहासको संग्रहालयमा सीमित हुने खतरा छ । त्यसैले आज बाम एकताको प्रश्न केवल एमाले र माओवादीबीचको सिटको गणित मिलान होइन । उल्लेखित समस्याहरुको निराकरणको दस्तावेजको रुपमा प्रस्तुत हुनु पर्दछ ।
तर यो एकता केवल सत्ता बाँडफाँड, कुर्सी जोगाउने रणनीति, र जनताको ध्यान मोड्ने खेल मात्र हो भने यसले कम्युनिस्ट आन्दोलनलाई बचाउँदैन,झन् बदनाम गर्छ । जनताको स्मृतिमा ‘यीनिहरू विचारका होइनन्, अवसरका मान्छे हुन्’ भन्ने आभाष स्थापित हुन्छ । तर यदि बाम आन्दोलनले साँच्चै आफूलाई पुनर्निर्माण गर्न चाहन्छ भने उसले कम्युनिस्ट चेतना विकासमामा गम्भिर काम गर्नैपर्छ । अध्ययनलाई संगठनको केन्द्र बनाउनैपर्छ । युवालाई कोरा भाषण मात्र होइन, वैचारिक रूपान्तरण गर्नै पर्छ ।
आजको युवा YouTube, Podcast, Debate culture, Long-form content र Independent analysis बाट ज्यादा प्रभावित छ । आजको जेन्जी Climate change, Gig economy, Mental health, Startup culture, AI र Digital inequality जस्ता विषयमा चिन्तित छ । त्यसैले अव कम्युनिष्ट आन्दोलनलाई आजको युवाको भाषामा अनुवाद गर्न सकिएन भने नयाँ पुस्ताले यसलाई Outdated Ideology को रूपमा हेर्न थाल्छ । विचार पुरानो भएर होइन प्रस्तुत गर्ने भाषा पुरानो भएर धेरै आन्दोलनहरू हराएका छन् ।
त्यसैले संगठनहरुलाई फेरि अध्ययन र प्रशिक्षण केन्द्रको रूपमा पुनःस्थापित गर्नुपर्छ । अब हरेक युवा संगठनहरु Ideological Schools बन्नुपर्छ, Reading Circles बन्नुपर्छ, Debate Forums बन्नुपर्छ, प्रश्न गर्न सिकाउने संस्कृति बन्नुपर्छ ।आन्दोलनमा आवद्ध हरेक युवाले अब कम्युनिजम पढ्नुपर्छ, नेपालको अर्थतन्त्र बुझ्नुपर्छ, पूँजीवाद र श्रम सम्बन्ध बुझ्नुपर्छ, वर्ग संघर्ष बुझ्नुपर्छ अनि मात्र आन्दोलनले उचाई भेट्नसक्छ । विचार बिनाका संगठनहरु मान्छेका भिड मात्र हुन जसले इतिहास बदल्न सक्दैन ।
कम्युनिस्ट चरित्र बिना कम्युनिस्ट आन्दोलन सफल हुँदैन ।सादगिपन, कठोर अनुशासन,जनतासँगको सम्बन्ध,श्रमप्रतिको सम्मान र आत्मालोचनाको संस्कार फेरि जीवित गर्नुपर्छ । आजको राजनीति Meme, Podcast, Reels, Documentary, Livestream debate, र Digital education बाट फैलिन्छ । यस्ता प्लेटफर्ममा केवल प्रचार गरेर पुग्दैन, ती विषय उपर वैचारिक बहस हुनुपर्छ । यदि वाम आन्दोलनले डिजिटल Battlefield बुझेन भने भविष्यमा समग्र आन्दोलन इतिहासको विषय बन्न सक्छ ।
कम्युनिस्ट नेता साधारण देखिनुपर्छ भन्ने जनअपेक्षा अझै जीवित छ । आज पनि मानिसहरू त्यस्ता नेताप्रति आकर्षित हुन्छन् जसको जीवनशैलीमै सन्देश हुन्छ । त्याग, सादगी र नैतिकता आज पनि शक्तिशाली राजनीतिक पूँजी हुन् । Jose Mujica विश्वभर सम्मानित हुनुको कारण केवल उनको राजनीति होइन उनको जीवनशैली पनि हो । जब नेताको जीवन नै सन्देश बन्छ तब नै Ideology शक्तिशाली हुन्छ । जब नेता र विचार एउटै दिशामा उभिन्छन् जनता त्यसलाई सम्मान गर्छन् ।
अबको वाम एकता यदि सत्ताप्राप्तिको दाउपेच हो भने यसले जनतामा “यी सबै सत्ता केन्द्रित हुन्” भन्ने धारणा अझ बलियो बनाउँछ । त्यसले कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउँछ किन्तु बचाउँदैन । तर यदि यो आत्मालोचनासहितको वैचारिक पुनर्जागरण हो, श्रमिक वर्गप्रतिको पुनःप्रतिबद्धता हो, युवालाई वास्तविक नेतृत्व दिने प्रयास हो, सिद्धान्तलाई आधुनिक युगसंग जोड्ने अभियान हो भने बाम एकता अझै एकपटक सान्दर्भिक बन्न सक्छ ।
अबको कम्युनिस्ट आन्दोलनको भविष्य वृद्ध नेताहरूको बैठकमा तय हुनु हुँदैन । त्यो विश्वविध्यालको लाईव्रेरिमा पुस्तक पढिरहेको युवाको चेतनाबाट तय हुनुपर्छ, त्यो अन्यायविरुद्ध प्रश्न गरिरहेको युवाको मानसपटलबाट तय हुनुपर्छ, त्यो बेरोजगार स्नातकको आक्रोशबाट तय हुनुपर्छ, त्यो श्रमिकको पसिनाबाट तय हुनुपर्छ । Gen-Z लाई कम्युनिजम सिकाउनुपर्छ भन्ने मात्र होइन पहिले कम्युनिस्टहरूले आफ्नो चरित्र पुनः प्रमाणित गर्नुपर्छ किनभने आजको पुस्ता भाषणले होइन व्यवहारले प्रभावित हुन्छ । जब विचार र चरित्रबीच दूरी बढ्छ, आन्दोलन कमजोर हुन्छ भन्ने कुरा सँधै इतिहासले प्रमाणित गरेको छ तर जब विचार र चरित्र एक हुन्छन तव इतिहास फेरिन्छ ।
अन्ततः प्रश्न बाम एकताको मात्र होइन प्रश्न नेपाली कम्युनिस्ट आन्दोलनले फेरि जनताको भरोसा जित्ने साहस राख्छ कि राख्दैन भन्ने हो? यदि राख्छ भने त्यो केवल संगठनात्मक मिलन होइन वैचारिक, नैतिक र सांस्कृतिक पुनर्जन्म हुनेछ । अनि त्यही पुनर्जन्मलाई जेन्जीले सायद सबैभन्दा बढी अर्थपूर्ण रूपमा बुझ्न सक्नेछन् ।