काठमाण्डू, ४ असार– ब्राजिलका फुटबल महानायक रोनाल्डो लुइस नाजारियो दे लिमाले अल्जेरियाविरुद्धको शानदार ह्याट्रिकपछि लियोनेल मेस्सीलाई निर्विवाद रूपमा सर्वकालीन महान (जीओएटी) खेलाडी घोषणा गरेका छन् ।
हिजो (बुधबार) भएको विश्वकपको पहिलो खेलमा अल्जेरियामाथि ३–० को सहज जित निकाल्दै साविक विजेता अर्जेन्टिनालाई उत्कृष्ट सुरुआत दिलाउने क्रममा मेस्सीले ऐतिहासिक प्रदर्शन गरेका थिए ।
अमेरिकी क्लब इन्टर मियामीका स्टार मेस्सीको प्रदर्शनले स्पेनिस क्लब रियल मड्रिडका पूर्वचर्चित खेलाडी रोनाल्डोलाई समेत आश्चर्यचकित बनाएको थियो । पोर्चुगीज सञ्चारमाध्यम ए बोलासँग कुरा गर्दै रोनाल्डोले मेस्सीको खुलेर प्रशंसा गरे। उनले सर्वकालीन महान खेलाडी को भन्ने बहस अब अन्त्य हुनुपर्ने समेत बताएका छन ।
रोनाल्डोले भने, ‘अब विश्वले लुक्न छाडेर उनी नै सर्वकालीन महान खेलाडी हुन् भन्ने तथ्य स्वीकार गर्ने समय आएको छ । उनले हरेक सिजन र विश्वकपमा निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेका छन्, तर अझै पनि उनीबारे शंका गरिन्छ । यो एउटा अविस्मरणीय र ऐतिहासिक रात हो, जुन सदैव इतिहासमा अंकित रहनेछ ।’
मंगलबारको प्रदर्शनसँगै मेस्सीले फुटबल इतिहास पुनर्लेखन गरे । उनले पहिलो पटक विश्वस्तरीय प्रतियोगितामा ह्याट्रिक पूरा गरेका छन् । तीन गोलसँगै मेस्सीको कुल विश्वकप गोल संख्या १६ पुगेको छ ।
यससँगै उनले ब्राजिलियन महानायक रोनाल्डोलाई पछि पार्दै पूर्व जर्मन स्ट्राइकर मिरोस्लाभ क्लोजेसँग बराबरी गर्दै प्रतियोगिताको इतिहासमा संयुक्त रूपमा सर्वाधिक गोलकर्ता बन्न सफल भएका छन् ।
यो उपलब्धिबारे प्रतिक्रिया दिँदै रोनाल्डोले भने, ‘रेकर्डहरू तोडिनकै लागि बनाइएका हुन्छन् । र ती रेकर्ड तोड्ने व्यक्ति मेस्सी नै भएकोमा विश्वका कुनै पनि फुटबल समर्थक अचम्मित हुँदैनन् । साथै अर्जेन्टिना प्रतियोगिताको साविक विजेता टोली पनि हो ।’