काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रमुख सचेतक युवराज दुलालले विद्युतीय उपकरण तथा गाडी प्रयोगलाई प्रोत्साहन गर्नुपर्नेमा सरकारले बजेटमार्फत निरुत्साहित गर्न खोजेको भन्दै आपत्ति जनाएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा दुलालले देशमा उत्पादित विद्युतको अधिकतम उपयोग गर्नुपर्नेमा उल्टै कर लगाएर सरकारले ग्यासलाई प्रोत्साहन गरेको आरोप लगाए ।
५० युनिटभन्दा ढबी विद्युत उपयोग गर्ने घरेलु ग्राहकलाई ५ प्रतिशत भ्याट लगाएर सरकारले गलती गरेको उनको भनाइ थियो । ‘अब भन्नुस् विद्युत प्रयोग गरौं कि ग्यास ?’, उनले प्रश्न गरे ।
नाकाबन्दीमा विद्युतीय चुल्होको बानी परेका नेपालीलाई बजेटले निराश बनाएको आरोप दुलालले लगाए ।
इतिहासमै पहिलोपटक बिरामीको उपचारमा समेत प्रत्यक्ष कर लगाउनु सरकारले आफू प्रतिगामी कर प्रणालीको पक्षमा रहेको पुष्टि गरेको आरोप उनको थियो ।
बजेटमा २ करोडमाथिको कृषि परियोजनामा मात्र ४० प्रतिशत अनुदान दिने नीतिबाछ वास्तविक किसान लाभान्वित हुनै नस्क्ने बताए । उक्त अनुदान पहुँचवाला व्यवसायीहरुको पोल्टामा मात्र जाने उनको भनाइ थियो ।