रसुवा भन्सार प्रमुखसहित ९ कर्मचारी जिम्मेवारीबाट हटाइए

काठमाण्डु टुडे २०८३ जेठ २३ गते १४:५६ मा प्रकाशित

काठमाडौं- अर्थ मन्त्रालयले रसुवा भन्सार प्रमुसहित ९ कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्लेको सचिवालयले भन्सार प्रमुख तुलसीप्रसाद भट्टराई सहित ९ कर्मचारीलाई जिम्मेवारीमुक्त गरिएको जनाएको हो । ती सबैलाई भन्सार विभागमा तानेर अनुसन्धान अघि बढाइएको छ ।

भन्सार बिन्दुमै नआएका सवारी साधनको भन्सार जाँचपास गराएको आरोप उनीहरुमाथि छ । मन्त्रालयले उक्त प्रकरण छानबिनका लागि समितिसमेत गठन गरेको छ ।

समितिको सिफारिसका आधारमा अनुसन्धानका लागि रसुवागढीका प्रमुख भन्सार अधिकृतसहित ९ कर्मचारीलाई जिम्मेवारी मुक्त गरेर भन्सार विभाग तानिएको मन्त्री वाग्लेको सचिवालयको भनाइ छ ।

यस्तै वाग्लेलेको सचिवालयले मुस्ताङको कोरोला नाकाबाट कर छली गरी भन्सार जाँचपास भएका बीवाइडीका कारबारे पनि मन्त्रालयले गठन गरेको समितिले स्थलगत अध्ययनपछि छानबिन प्रक्रिया अघि बढाएको जनाएको छ ।

अर्थ मन्त्रालय र भन्सार विभागका दुई उपसचिव तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रतिनिधिसहितको टोली हाल कोरालामै रहेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us