गणतन्त्र दिवस समारोह: बालेन र डीपीभन्दा पछाडि मन्त्रीको लहरमा रवि लामिछाने

काठमाण्डु टुडे २०८३ जेठ १५ गते १४:२७ मा प्रकाशित

काठमाण्डू, १५ जेठ– गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरीएको थियो । राजकीय मर्यादाक्रमअनुसार बस्ने व्यवस्था मिलाइएको समारोहमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछाने बहालवाला मन्त्रीहरूको बीचमा आसीन देखिए ।

समारोहमा सांसदहरू बस्नका लागि छुट्टै स्थानको प्रवन्ध गरीएको थियो । त्यहाँ रास्वपा लगायत अन्य दलका र स्वतन्त्र सांसद समेत देखिँदा रवि लामिछाने भने मन्त्रीहरूको बीचमा देखिए। समारोहको आसन ग्रहणको अग्रपङ्क्तिमा राष्ट्रपति रामचन्द्र पौडेल दम्पती, उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री वालेन्द्र शाह दम्पती रहेका थिए ।

दोस्रो लहरमा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल रहेका थिए। त्यसपछिको लहरमा भने संघीय सरकारका मन्त्रीहरूका साथमा रास्वपा सभापति लामिछाने बसेका थिए ।

उनी मन्त्रीहरू सीता वादी, शिशिर खनाल, प्रतिभा रावल र निशा मेहताको बीचमा आसीन थिए लामिछानेको दायाँतर्फ मन्त्रीद्वय प्रतिभा रावल र निशा मेहता तथा बायाँतर्फ मन्त्रीद्वय सीता वादी र शिशिर खनाल रहेका थिए। नेपाल सरकारको विद्यमान मर्यादाक्रमअनुसार संघीय सरकारका बहालवाला मन्त्री र पूर्वउपप्रधानमन्त्रीको मर्यादाक्रम समान अर्थात् आठौं स्थानमा रहने व्यवस्था छ ।

सोही कानुनी व्यवस्थाका आधारमा लामिछानेलाई मन्त्रीहरूको लहरमा स्थान दिइएको हो । यद्यपि, सो लहरमा सरकारका अन्य पूर्वउपप्रधानमन्त्रीहरूको उपस्थिति भने देखिएन । लामिछाने यसअघि २०७९ को प्रतिनिधिसभा निर्वाचनपछि गठित पुष्पकमल दाहाल नेतृत्वको सरकारमा दुई पटक उपप्रधान तथा गृहमन्त्री बनिसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us