काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् सुशान्त वैदिकले विगतका कमजोरी औंल्याएर वर्तमान सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले गणेश नेपाली, अश्विन रावत र विवेक मण्डलको आत्मदाहको कारण राज्य प्रणाली भएको बताए ।
उनले आत्मदाहका घटनालाई केवल व्यक्तिगत कमजोरीका रुपमा अथ्र्याउन नहुने स्पष्ट गरे ।
नागरिकको आशा संस्थामाथिको विश्वास र भविष्यप्रतिको भरोसामा देखिने भएकाले नागरिकले राज्यसँग संवाद गर्दा गर्न खोज्दा आफूलाई नसुनिएको महसुस गरेपछि आत्मदाहको बाटो रोज्य बाध्य भएको स्पष्ट गरे ।
‘जब सेवा लिन जाँदा सम्मानको सट्टा अपमान अनुभव गर्दछ जब अवसरको ढोका बन्द हुँदै गएको देख्छ त्यो एउटा व्यक्तिको मात्र पीडा होइन’, उनले भने, ‘त्यो राष्ट्रको संरचनामा आएको कमजोरीको संकेत हो ।’
जुन देशमा नागरिकले राज्यमाथि भरोसा नगरेर आत्मदाह गर्छन त्यहाँ कमजोरी नागरिकको नभई राज्यको हुने वैदिकले स्पष्ट गरे ।
उनले दुई तिहाईको सरकाको नेतृत्व गरिरहेको रास्वपा इतिहासलाई दोष दिएर वर्तमानको विम्मेवारीबाट भाग्न नक्ने स्पष्ट गरे ।
‘इतिहासलाई दोष दिएर भविष्य निर्माण हुँदैन । यसमा हामी सबै चुकेका छौ, राज्य चुकेको छ’, उनले भने, ‘हामीले धेरै पुराना समस्याहरु बोकेर अगाडि बढ्नु परेको छ । तर, यो पनि सत्य हो कि विगतका कमजोरीहरु मेरो सरकारका लागि बहाना भन्न सक्दैनन् ।’
आजको जिम्मेवारी आजकै हुने भन्दै उनले एउटा स्वस्थ राष्ट्रले आफ्ना घाउहरु लुकाउनुको साटो तिनलाई पहिचान गरी उपचार गरी आफूलाई अझ बलियो बनाउँने तर्क गरे । उनले राज्य र नागरिकको दूरी घटाउने गरी काम गर्न सरकारलाई सुझाए ।
‘कुनै पनि नागरिकले आफ्नो समस्या लिएर राज्यको ढोकामा पुग्दा एक्लो र असहाय महसुस गर्न नहुने उनले बताए ।