सरकारलाई माधव नेपालको सुझाव: तमासा होइन, काम गरेर देखाऊ

काठमाण्डु टुडे २०८३ साउन ७ गते २२:२६ मा प्रकाशित

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  सह–संयोजक माधवकुमार नेपालले सरकारले सञ्चारमाध्यम र राजनीतिक नेताका घरअगाडि सरकारी गाडी तेर्स्याएर शक्ति प्रदर्शन नगर्न चेतावनी दिएका छन् ।

सरकारलाई तमासा नगरी जिम्मेवारीपूर्वक काम गर्न आग्रह गर्दै उनले सय दिन बितिसक्दा पनि ‘नयाँ सरकार’ को बहाना स्वीकार्य नहुने बताएका हुन् ।

समाजवादी प्रेस संगठनले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेपालले भने, ‘सरकारले तमासा नदेखाओस् । गाडी लगेर मिडिया हाउस र नेताको घर अगाडि तेर्स्याउने काम नगरोस् । जिम्मेवार भएर चलोस्, नयाँ छन् भनेर चुप लाग्ने अवस्था छैन । १०० दिन दिइहालियो ।’

सरकार अझै सिक्ने चरणमा रहेको तर्कप्रति पनि उनले प्रश्न उठाए ।

‘बिहानले दिउँसोको जानकारी दिन्छ । सुरुमै गरेको कामले के गर्न खोजिरहेको छ भन्ने देखिन्छ,’ उनले भने ।

सरकार ढाल्ने उद्देश्य आफ्नो दलको नभएको स्पष्ट पार्दै नेपालले अहिलेको आवश्यकता सरकार परिवर्तनभन्दा सरकारको कार्यशैली सुधार हुनु रहेको बताए ।

‘हामीलाई अहिले सरकार ढाल्नु–साल्नु पनि छैन, त्यसमा लाग्नु पनि छैन । हामी ढाल्नसक्ने स्थितिमा पनि छैनौं,’ उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us