रास्वपामा नेतृत्वका लागि मरिहत्ते गर्ने प्रवृत्ति देखिएको भन्दै रवि लामिछानेबाट चिन्ता व्यक्त

काठमाण्डु टुडे २०८३ जेठ २३ गते १४:४० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पार्टीमा लगानीको हिसाब गर्ने प्रवृत्ति देखिएको बताएका छन् ।

स्थापनाकालमा सीमित दायरामा सहमतिका आधारमा बाँडिएका तदर्थ जिम्मेवारीलाई स्थायी मानक मानेर पदोन्नतिको अपेक्षा राख्ने वा योगदानको हिसाब किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर नहुने भन्दै उनले सचेत गराएका छन् ।

पार्टी स्थापनाको चार वर्षमै यस्तो प्रवृत्तिले जरा गाड्न खोज्नु चिन्ताको विषय भएको उनको भनाइ थियो । लामिछानेले सो प्रवृत्ति समयमै सच्याउनुपर्नेमा जोड दिए । ‘स्थापनाकालमा सीमित दायरामा सहमतिका आधारमा बाँडिएका तदर्थ जिम्मेवारीलाई स्थायी मानक मानेर पदोन्नतिको अपेक्षा राख्ने वा ‘योगदान’को हिसाब-किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन’ पार्टीका जिल्ला अधिवेशनहरुको सन्दर्भमा शनिबार शुभकामना दिँदै लामिछानेले भनेका छन्, ‘चार वर्षमै यस्तो प्रवृत्तिले जरा गाड्न खोज्नु चिन्ताको विषय हो, जसलाई हामीले समयमै सच्याउनुपर्छ ।’

लामिछानेले पार्टी जिम्मेवारीमा रहेर भविष्यमा संसदीय अवसर प्राप्त गर्ने आशयले नेतृत्वका लागि मरिहत्ते गर्ने प्रवृत्ति समेत कहिलेकाहीँ देखिएको बताए । यस्ता प्रवृत्तिलाई अधिवेशनकै लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्नु आजको आवश्यकता भएकामा उनको जोड छ । पुरानै सोच, शैली र प्रवृत्ति बोकेर नयाँ र परिष्कृत जनमैत्री शक्ति बन्न नसकिने उनले स्पष्ट गरे ।

अब पार्टीको लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने मात्र नभई मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने भएको लामिछानेले उल्लेख गरेका छन् ।

‘पुरानै सोच, शैली र प्रवृत्ति बोकेर हामी नयाँ र परिस्कृत जनमैत्री शक्ति बन्न सक्दैनौँ । पार्टी जिम्मेवारीमा रहेर भविष्यमा संसदीय अवसर प्राप्त गर्ने आशयले नेतृत्वका लागि मरिहत्ते गर्ने प्रवृत्ति पनि कहिलेकाहीँ देखिएको छ । यस्ता प्रवृत्तिलाई अधिवेशनकै लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्नु आजको आवश्यकता हो’, लामिछानेले भनेका छन्, ‘अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो। त्यसका लागि पार्टीलाई अझ फराकिलो, समावेशी र सुदृढ बनाउनुपर्छ । तर, संगठन विस्तार हुँदा म रहन्नँ कि’ भन्ने संकीर्ण चिन्तालाई त्याग्नुपर्छ । पार्टी ठुलो हुँदा हामी सबैको भूमिका अझ अर्थपूर्ण हुन्छ ।’

वडा र पालिका तहका अधिवेशनहरू सकिएपछि शनिबार र आइतबार रास्वपाका जिल्ला अधिवेशनहरु हुँदैछन् । लामिछानेले अधिवेशन र महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र होइन, पार्टीको अनन्तकालीन जीवन, विधि-पद्धति, अभ्यास र स्वस्थ परम्परा निर्माण गर्ने ऐतिहासिक अवसर भएको चर्चा गर्दै उने यसले आफूहरुको आगामी यात्रालाई स्पष्ट दिशानिर्देश गर्ने विश्वास व्यक्त गरे ।

पार्टीको सर्वोपरि हितका लागि हरेक तहमा सक्षम, इमानदार र जनमैत्री नेतृत्व आवश्यक रहेका भन्दै उनले सम्वाद, सहमति र आन्तरिक निर्वाचनजस्ता लोकतान्त्रिक विधिहरू अपनाएर नेतृत्व चयन गरिनु नै आफूहरुको संस्कार भएको बताए । यो प्रक्रियाबाट पार्टी अझ बलियो र परिपक्व बन्दै जाने विश्वास लिए ।

रास्वपालाई उन्नत लोकतान्त्रिक पार्टी बनाउने लक्ष्य लिएका र त्यसका लागि विचार मात्र नभई, सोच, शैली, व्यवहार र राजनीतिक संस्कार पनि उन्नत हुनुपर्ने स्पष्ट गरे । पुरानै सोच, शैली र प्रवृत्ति बोकेर हामी नयाँ र परिस्कृत जनमैत्री शक्ति बन्न नसक्नेमा पार्टी पंक्तिलाई सचेत गराए ।

आफूहरु अहिले भएको स्थानमा हुनुमा केवल केही व्यक्तिको योगदानले नभई सबैभन्दा माथि मतदाताको विवेक, त्यसपछि पार्टीका सम्पूर्ण सदस्यहरूको समर्पणले सम्भव भएको उनले बताए ।

पुराना साथीहरूले बनाएको जगमा नयाँ पुस्ताको ऊर्जा र सक्रियताले हाम्रो यात्रालाई यहाँसम्म ल्याएको स्मरण गरे ।

युगले दिएको अभिभारा पूरा गर्न, पछिल्लो जनमतलाई अझ विस्तार गर्न र राजनीतिलाई सुसंस्कृत, पारदर्शी तथा जनमैत्री बनाउन सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने चर्चा गर्र्दै अब म बाट हामी’मा रूपान्तरण हुने बेला आएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us