झापामा कार र मोटरसाइकलसँग ठोक्किएर घाइते भएका साइकलयात्रीको मृत्यु

काठमाण्डु टुडे २०८३ साउन ७ गते १६:१३ मा प्रकाशित

काठमाण्डू, ७ साउन– झापाको दमकमा कार, मोटरसाइकल र साइकल एकापसमा ठोक्किँदा साइकलयात्रीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन ।

बुधबार साँझ दमक नगरपालिका–४ स्थित भाइरल रोडको सङ्गम चोक नजिक आम्दाबाट ताराबारीतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ५४८२ नम्बरको कारले सोही दिशातर्फ अघि बढिरहेको साइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

कारको ठक्करपछि साइकल अनियन्त्रित भई सडकमा लडेपछि पछाडिबाट आइरहेको प्रदेश १–०१–०१५ प १४४ नम्बरको मोटरसाइकलले पनि साइकलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा दमक नगरपालिका–३ निवासी ५३ वर्षीय रणबहादुर विष्ट गम्भीर घाइते भएका थिए ।

उनको टाउको, दुवै हात तथा खुट्टामा गम्भीर चोट लागेको थियो । उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएकामा बिहीबार बिहान उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथ प्रहरी नायब उपरीक्षक (डीएसपी) रञ्जन अवाले जानकारी दिएका छन ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मेचीनगर नगरपालिका–८ निवासी ४६ वर्षीय दुर्गाबहादुर बस्नेतको निधार, दुवै हात तथा खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us