काठमाण्डू, ७ साउन– कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले ऐतिहासिक निर्णय गर्ने बेला आएको बताएका छन ।
आज बीपी कोइरालाको स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा संसदीय दलका नेता आङ्देम्बेले एउटै व्यक्तिको भाषणले महिनौं खुसी भएर बस्ने बेला अहिले नभएको बताएका हुन । उनले भने, ‘अहिलेको समयले हामीसँग एक थान भाषण मात्रै मागेको छैन ।
त्यस्तो समय पनि थियो एक व्यक्तिले भाषण गरेपछि त्यसमा स्वाद मानेर महिनौं बिताउने हामी पनि हौं, ‘अहिलेको यो समयले यो कांग्रेसलाई एक थान भाषणको निम्ति होइन गम्भीरतापूर्वक ऐतिहासिक निर्णय पनि गर भनेको छ । यो कुरा बुझ्नुपर्छ ।’ जीवन्त पार्टीमा छलफल, बहस, वादप्रतिवाद हुने उनको भनाइ थियो ।
‘जब विवाद आक्रोशित ध्यानमा रुपान्तरण हुँदै जान्छ नि त्यतिखेर त्यो झांगिएको विवादले पार्टी जीवन समाप्त पार्दै जान्छ । शिथिल बनाउँदै लान्छ । शिथिल पार्टीले उन्नत निष्कर्ष दिन सक्दैन,’ उनले भने ।
अहिलेको समयमा इतिहासले पार्टी नेता तथा कार्यकर्तालाई खबरदारी गरिरहेको भन्दै उनले उक्त खबरदारी चेतलाई महसुस गरिरहेको जिकिर गरे । उनले भने, ‘इतिहासले हामीलाई सम्झाइरहेको छ ।
हामीलाई खबरदारी गरिरहेको छ । इतिहासको खबरदारी भनेको सचेत गराएको हो, कांग्रेसले त्यो खबरदारी र चेतलाई महसुस गर्नुपर्छ । त्यसकारण आज हामीले नवीन परिस्थितिमा नवीन संकल्प गर्न, मोफसलमा रहेका संरचनालाई पुर्याउनका लागि शंखघोष गर्नुपर्नेछ ।’