काठमाण्डू, २८ जेठ– हेटौँडामा स्थगित भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको नेतृत्व चयन काठमाण्डूमा हुने भएको छ ।
बागमती प्रदेशको प्रथम अधिवेशनअन्तर्गतको स्थगित निर्वाचन प्रक्रिया ३० जेठमा हुने भएको हो । काठमाण्डूको धुम्बाराहीमा प्रदेश नेतृत्व चयनका लागि निर्वाचन हुने रास्वपाले जनाएको छ ।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगले एक सूचना जारी गर्दै निर्वाचनको नयाँ कार्यतालिका र मतदान सम्बन्धी विवरण सार्वजनिक गरेको हो ।
यसअघि २७ जेठमा प्राविधिक तथा व्यवस्थापकीय कारणले स्थगित गरिएको निर्वाचन प्रक्रियाअन्तर्गतका सम्पूर्ण प्राविधिक कार्यहरू (मतदाता नामावली प्रमाणीकरण, समायोजन सूची व्यवस्थापन र प्राविधिक परीक्षण) सम्पन्न गरेर आयोगले मतदानको मिति तय गरेको हो ।