कर विवादमा अर्थमन्त्री स्वर्णिम वाग्लेको सचिवालयको खण्डन, ‘त्रुटि सच्याउन मात्र पत्राचार’

काठमाण्डु टुडे २०८३ जेठ २६ गते २१:२१ मा प्रकाशित

काठमाडौं- अर्थमन्त्री । अर्थमन्त्री स्वर्णिम वाग्लेको सचिवालयले आर्थिक विधेयकसँग सम्बन्धित करका दर हेरफेर गरिएको आरोपको खण्डन गर्दै संसद् सचिवालयमा पठाइएको पत्र त्रुटि सुधारका लागि मात्र भएको जनाएको छ ।

सचिवालयले जारी गरेको विज्ञप्तिमा आर्थिक विधेयकमा देखिएको प्राविधिक त्रुटि सच्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको उल्लेख गर्दै करका दर परिवर्तन गर्न वा संसदीय प्रक्रिया मिच्ने कुनै उद्देश्य नरहेको दाबी गरेको छ ।

विज्ञप्तिमा सार्वजनिक रूपमा उठाइएका आरोपहरू तथ्यमा आधारित नभएको उल्लेख गर्दै विधेयकमा देखिएको त्रुटि सच्याउने नियमित प्रशासनिक प्रक्रियाअन्तर्गत पत्राचार गरिएको स्पष्ट पारिएको छ ।

करका दरमा मनपरी संशोधन गर्न खोजिएको र संसद्मा दर्ता भइसकेको विधेयकमा हस्तक्षेप गरिएको आरोपपछि विपक्षी दलहरूले अर्थमन्त्रीको आलोचना गर्दै राजीनामासमेत मागेका छन् । तर सचिवालयले यस्ता आरोपलाई भ्रामक र तथ्यहीन भनेको छ ।

सचिवालयका अनुसार आर्थिक विधेयकका विषयमा भएका सबै काम प्रचलित कानुन र संसदीय प्रक्रियाअनुसार नै सम्पन्न भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us