रोनाल्डोलाई मैदानबाट ननिकालेकोमा पोर्चुगलका प्रशिक्षक आलोचित, क्रिस सटनले भनः यो लाजमर्दो हो

काठमाण्डु टुडे २०८३ असार ४ गते १७:४३ मा प्रकाशित

काठमाण्डू, ४ असार– विश्वकपमा प्रजातान्त्रिक गणतन्त्र कङ्गोसँग १–१ को निराशाजनक बराबरी खेलका क्रममा क्रिस्टियानो रोनाल्डोलाई प्रतिस्थापन गर्न अस्वीकार गरेको भन्दै पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजको कडा आलोचना भएको छ ।

आफ्नो छैटौँ विश्वकप खेलिरहेका ४१ वर्षीय रोनाल्डोले ह्युस्टनमा भएको उक्त खेलमा कङ्गोको बलियो रक्षापंक्ति तोड्न संघर्ष गरिरहेको पोर्चुगलको टोलीमा खासै उत्कृष्ट प्रर्दशन गर्न सकेनन् । रोनाल्डोले अहिले प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा लगातार १० खेलसम्म गोल गर्न सकेका छैनन् । मैदानमा उनको उपस्थिति फितलो देखिए पनि मार्टिनेजले आफ्ना स्टार खेलाडीलाई बाहिर निकाल्ने निर्णय गरेनन् ।

बीबीसी रेडियो ५ लाइभका लागि खेलको टिप्पणी गर्दै इङ्गल्याण्डका पूर्वस्ट्राइकर क्रिस सटनले मार्टिनेजको आलोचना गरेका छन । उनी रोनाल्डोलाई मैदानबाट निकाल्न डराएको उनके टिप्पणी छ । ८३ औं मिनेटमा रोनाल्डोको सट्टा मिडफिल्डर भिटिन्हालाई निकालेर स्ट्राइकर गोन्कालो रामोसलाई मैदान छिराइएपछि सटनले भने, ‘यो रोबर्टो मार्टिनेजका लागि लाजमर्दो कुरा हो ।’ उनले थपे, ‘के हामी सबैले मार्टिनेजले भन्दा फरक खेल हेरिरहेका छौँ ?

उनी रोनाल्डोलाई निकाल्न डराइरहेका छन् । उनी वास्तविक प्रशिक्षक जस्तो देखिएनन् । रोनाल्डोले सायद निर्णायक गोल गर्लान्, तर खेल उनको नियन्त्रणभन्दा बाहिर गइसकेको छ ।’ सटनले अगाडि भने, ‘उनी एक शानदार खेलाडी हुन् ।

कुनै समय उनी ‘प्लेमेकर थिए, तर अहिले उनी केवल (पोचर) गोलका लागि मौका ढुक्ने खेलाडी मात्र हुन् । उनी केवल पोचर मात्र होइनन्, उनी पूरै मैदानमा आफ्नो प्रभुत्व जमाउन खोज्छन् । म मार्टिनेजको व्यवस्थापन बुझ्न सकिरहेको छैन । रोनाल्डो खेलको किनारमा मात्र सीमित थिए र खेल उनीभन्दा अगाडि बढिसकेको थियो ।’

रोनाल्डोका पूर्वम्यानचेस्टर युनाइटेड सहकर्मी तथा इङ्गल्याण्डका पूर्वकप्तान वेन रुनीले पनि पोर्चुगलको समग्र प्रदर्शनको आलोचना गरेका छन । उनले भने, ‘समूहको पहिलो खेल निकै महत्त्वपूर्ण हुन्छ । पोर्चुगलबाट जस्तो प्रदर्शन भयो, त्योभन्दा बढी ऊर्जा देखिनुपर्थ्यो ।

म टोलीमा अझ बढी सक्रियता चाहन्छु । कतिपय अवस्थामा अन्य खेलाडीहरूले रोनाल्डोभन्दा अगाडि बढेर खेलून् भन्ने चाहन्छु । पोर्चुगलको प्रदर्शन निकै कमजोर थियो ।’

२२९ अन्तर्राष्ट्रिय खेलमा १४३ गोल गरिसकेका रोनाल्डो यसै सिजन छैटौँ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बन्ने लक्ष्यमा छन् । पोर्चुगलले अब आगामी मंगलबार उज्वेकिस्तानको सामना गर्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us