रास्वपा पतन हुन्छः राजेन्द्र लिङदेन

काठमाण्डु टुडे २०८३ असार १३ गते १७:०३ मा प्रकाशित

काठमाण्डु–राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पतन हुने दाबी गरेका छन् ।

राजधानीमा शनिबार अगुवा नेता कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै उनले रास्वपाको पतन निश्चित भएको बताए ।

उनले रास्वपाको पतनपछि विकल्पमा राप्रपा अगाडि आउने दाबी गरे । राप्रपालाई वैकल्पिक शक्तिमा स्थापित गर्न पहिला आफू बदलिनुपर्ने उनको भनाइ थियो । रास्वपाको विकल्प बन्न अहिलेको व्यवहार र चरित्र बदल्न कार्यकर्तालाई निर्देशन दिए ।

‘यो राष्ट्रिय स्वतन्त्र पार्टी त पतन हुनेवाला छ नै । तर त्यसपछि हामी उठ्नको लागि हामीले अहिले गरिराखेको हाम्रो क्रियाकलाप, हाम्रो तरिका, हाम्रो ढाँचामा आमूल परिवर्तन गर्नुपर्नेछ,’ लिङ्देनले भने, ‘हाम्रो संगठन संरचना, हाम्रो कार्यशैली, यसमा परिवर्तन गरेर जानुपर्छ । हामीले आमजनतालाई राष्ट्रिय प्रजातन्त्र पार्टी फेरियो, राष्ट्रिय प्रजातन्त्र पार्टी सुध्रियो भन्ने सन्देश दिनुपर्नेछ ।’

संगठन, कार्यशैली र सोचमा आमूल परिवर्तन गरेर पार्टीलाई नयाँ बनाउनुपर्नेमा उनको जोड छ । गत निर्वाचनमा जनताले राप्रपालाई जनमत नदिएको तर, वैकल्पिक राजनीतिक शक्तिका रुपमा बचाइराखेको जिकिर गरे । रास्वपा पतन हुने निश्चित भए पनि ऊ पतन भएपछि राप्रपाको पालो हो भनेर पर्खिएर बस्न नहुने लिङदेनले उल्लेख गरे ।

लिङदेनले पार्टीभित्र गुटगत राजनीति नगर्न नेताहरुलाई चेतावनी दिए । आपसी, एकता, विश्वास र जनतासँगको सम्बन्धलाई प्राथमिकतामा राखेर अघि बढ्न पार्टी पंक्तिलाई निर्देशन दिए ।
नेता विशेषको पुच्छर समाएर पार्टीमा टिक्ने प्रवृत्ति छाडेर जनताको हात समाएर टिक्ने विधिमा लाग्न भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us