काठमाण्डु– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूमाथि नेतृत्व छाड्न दबाब दिने युवा नेताहरुप्रति आक्रोश पोखेका छन् ।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले उमेर कम हुँदैमा नेतृत्व क्षमता हुन्छ भन्ने ठान्नु गलत रहेको बताए ।
उमेर मात्र सबै थोक भएको उनको भनाइ थियो । लिङदेनले सबै युवा ३६ वर्षमा प्रधानमन्त्री बन्ने बालेन शाह नहुने टिप्पणी गरे ।
‘उमेर मात्रै सबै कुरा होइन रहेछ । युवामात्रै सबै कुरा होइन रहेछ,’ उनले भने, ‘‘३५–३६ वर्षको हुने बित्तिकै सबै बालेन शाह होइँदैन ।’
उनको संकेत संसदीय दलका नेता ज्ञानबहादुर शाहीतर्फ थियो । शाहीले लिङदेनले नेतृत्व छाड्नुपर्ने र आफूले राप्रपा हाँक्ने बताउन थालेका छन् ।
लिङ्देनले ८० वर्षका डोनाल्ड ट्रम्प विश्वमहाशक्ति राष्ट्र अमेरिकाको राष्ट्रपति चलाइरहेको जिकिर गरे । ८० वर्षका सबै ट्रम्प हुँदैनन्, ३६ वर्षका सबै बालेन हुँदैनन्’, उनले भने ।
राप्रपामा २५ देखि ८५ वर्षसम्मका मानिस संगठित रहेको भन्दै उनले युवाको उर्जा र अग्रजको अनुभवको राम्रो संयोजन राप्रपामा रहेको बताए ।
लिङ्देनले पार्टीमा सबैलाई मिलाएर लैजान आफू प्रतिबद्ध रहेको बताए । उनले नभएका कुरा सुनेका भरमा धारणा बनाउने काम तत्काल रोक्न निर्देशन पनि दिए ।