कर्णाली नदीमा बेपत्ता गाडीका एक यात्रुको शव कैलालीमा भेटियो, तीन जना अझै बेपत्ता
काठमाण्डु टुडे २०८३ असार २३ गते १९:४५ मा प्रकाशित
कैलाली- कर्णाली नदीमा दुर्घटना भएर बेपत्ता भएको गाडीमा सवार एक यात्रुको शव कैलालीमा फेला परेको छ ।
असार १८ गते दैलेखमा दुर्घटनापछि कर्णाली नदीमा खसेको गाडीका यात्रुमध्ये कालिकोटको पचालझरना गाउँपालिका–९ का ६२ वर्षीय मेखे तिरुवाको शव कैलालीको मोहन्याल गाउँपालिका–६ मा भेटिएको हो ।
प्रहरीका अनुसार शवको पहिचान मृतकका छोरा रवीन्द्र तिरुवाले गरेका हुन् ।
इलाका प्रहरी कार्यालय चिसापानी कैलालीकी प्रमुख प्रहरी निरीक्षक मीरा खड्काले पनि भेटिएको शव मेखे तिरुवाकै भएको पुष्टि गरेकी छन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी श्रवणकुमार विकका अनुसार दुर्घटनामा परेको गाडीमा मेखे तिरुवासहित रास्कोट नगरपालिका–२ कालिकोटकी सिर्जना खड्का, सुर्खेतको पञ्चपुरी नगरपालिका–८ का चालक तुलाराम सुवेदी र सहचालक रामप्रसाद सुवेदी सवार थिए । उनीहरू तीनै जना अझै बेपत्ता छन् ।
सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको गाडी असार १८ गते दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङगेतडामा दुर्घटनामा परेको थियो ।
सडकबाट खसेको गाडी कर्णाली नदीमा पुगेपछि यात्रुसहित बेपत्ता भएको थियो ।
बेपत्ता यात्रु र गाडीको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासहित करिब १०० जनाको टोली परिचालन गरिएको छ ।
खोजी कार्यमा उच्च प्रविधियुक्त उपकरण, सोनार, ड्रोन, बोरेस्कोप क्यामरा र ‘रिभर भेहिकल म्याग्नेट’ प्रयोग भइरहेको प्रहरीले जनाएको छ।