काठमाण्डू, १४ असार– अर्जेन्टिनाका कप्तान लियोनल मेसीले बेन्चबाट मैदान प्रवेश गर्दै गोल गरेर अर्को नयाँ कीर्तिमान बनाउँदा अर्जेन्टिनाले विश्वकपमा आफ्नो अपराजित यात्रा कायम राखेको छ । डालसमा भएको खेलमा अर्जेन्टिनाले जोर्डनलाई ३–१ को गोलअन्तरले सहजै पराजित गर्यो ।
अर्जेन्टिना यसअघि नै समूह ‘जे’ को विजेता बनिसकेकाले मेसीलाई सुरुमा बेन्चमा राखिएको थियो । खेलको ६०औं मिनेटमा उनी मैदान प्रवेश गर्दा दर्शकदीर्घाबाट स्वागतमा ठूलो हुटिङ भयो । मैदान छिरेको २० मिनेटपछि खेल सकिन १० मिनेट बाँकी छँदा मेसीले लो फ्रि–किकमार्फत उत्कृष्ट गोल गर्दै अर्जेन्टिनाको अग्रता फराकिलो बनाएका थिए । यो गोलसँगै मेसीले यस प्रतियोगितामा आफ्नो व्यक्तिगत गोल संख्या ६ पुर्याएका छन् ।
उनी गोल्डेन बुटको दौडमा आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा दुई गोलले अगाडि छन् । साथै, यो उनको करियरको १९ औँ विश्वकप गोल हो, जसले उनको आफ्नै कीर्तिमानलाई अझ सुदृढ बनाएको छ । यस गोलसँगै पूर्व बार्सिलोना फरवार्ड मेसी लगातार सातवटा विश्वकप खेलमा गोल गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन् ।
उनले २०२२ को विश्वकपको अन्तिम चरणमा (अस्ट्रेलिया, नेदरल्यान्ड्स, क्रोएसिया र फ्रान्स) विरुद्धका खेलमा लगातार गोल गरेका थिए । २०२६ को सुरुवाती खेलहरू (अल्जेरिया, अस्ट्रिया र जोर्डन) विरुद्ध लगातार गोल गरेर यो नयाँ कीर्तिमान बनाएका हुन् ।
मेसीको प्रदर्शनको प्रशंसा गर्दै इङ्ल्यान्डका पूर्व मिडफिल्डर ड्यानी मर्फीले बीबीसी वनमा भने, ‘उनी साँच्चिकै अविश्वसनीय छन् । उनले खेलमा तत्काल प्रभाव पार्छन् । उनी निकै चतुर र प्रतिभाशाली छन् । उनलाई आफ्नो वरिपरि के भइरहेको छ भन्ने राम्रो ज्ञान हुन्छ । उनलाई खेल्दै गरेको हेर्नु नै एउटा अहोभाग्य हो ।’
यसअघि, धेरै परिवर्तन गरिएको अर्जेन्टिनी टोलीका लागि पूर्व टोटनह्याम मिडफिल्डर जियोभानी लो सेल्सोले उत्कृष्ट फ्रि–किकमार्फत सुरुवाती गोल गरेका थिए । त्यसपछि स्ट्राइकर लाउटारो मार्टिनेजले पेनाल्टीमार्फत अग्रता दोब्बर बनाए । मार्कोस सेनेसीलाई डिबक्स भित्र टाउकोमा प्रहार भएपछि रेफ्रीले मोनिटर हेरेर अर्जेन्टिनालाई पेनाल्टी दिएका थिए ।
अर्जेन्टिनाको नियन्त्रणमा खेल रहे पनि जोर्डनले संघर्ष जारी राख्यो र दोस्रो हाफको १० औं मिनेटमा एक उत्कृष्ट गोल गर्दै अन्तर कम गर्यो । जोर्डनका मौसा अल तामारीले एहसान हदादको पासलाई गोलमा परिणत गरेका थिए ।