काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुशासनमा कमजोरी कायम रहे नेपाल अन्तर्राष्ट्रिय रूपमा गम्भीर जोखिममा पर्ने चेतावनी दिएका छन् ।
उनले सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तर्राष्ट्रिय संस्था एफएटीएफको ग्रे लिस्टबाट नेपाललाई बाहिर निकाल्न सरकारले तीव्र रूपमा काम गरिरहेको बताए ।
शनिबार राष्ट्रियसभामा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथिको छलफलका क्रममा बोल्दै वाग्लेले आवश्यक सुधार नगरे नेपाल ब्ल्याक लिस्टमा पर्न सक्ने बताए ।
उनका अनुसार ब्ल्याक लिस्टमा परे अन्तर्राष्ट्रिय वित्तीय सम्बन्ध प्रभावित हुने, प्रत्यक्ष विदेशी लगानी घट्ने र नेपालको अन्तर्राष्ट्रिय विश्वसनीयतामा गम्भीर असर पर्नेछ ।
उनले सुशासनका नियमित काममा चुकिरहे नेपाल राजनीतिक अस्थिरता, कमजोर राज्य संयन्त्र र दीर्घकालीन संकटका कारण चिनिएका हाइटी र सोमालिया जस्ता मुलुकको अवस्थातर्फ धकेलिने जोखिम बढ्ने चेतावनी दिए ।
वाग्लेले २०८१ फागुनदेखि लागेको एफएटीएफको ग्रे लिस्टको ‘कलंक’ हटाउन सरकार सक्रिय रूपमा लागेको बताए ।
सरकारमा आएको ४० दिनमै कार्ययोजना कार्यान्वयनमा उल्लेख्य प्रगति भएको उनको दाबी छ ।
उनका अनुसार एफएटीएफले दिएको १५ बुँदे अनिवार्य कार्ययोजनामध्ये सरकार गठन हुँदा धेरै बुँदामा कुनै प्रगति भएको थिएन ।
अहिले भने केही बुँदा पूर्ण रूपमा र केही आंशिक रूपमा सम्बोधन भइसकेका छन् ।
उनले निर्देशन समितिको बैठकमार्फत बाँकी कार्ययोजनालाई समयसीमा तोकेर पूरा गर्ने र सबै राज्य संयन्त्रलाई परिचालन गरी एफएटीएफका सबै सर्त पूरा गर्ने तयारी भइरहेको जानकारी दिए ।