काठमाण्डु– एमाले महासचिव शंकर पोखरेलले तत्कालीन नेकपा र एमाले विभाजनपछि उत्पन्न निराशाका कारण मुलुक ‘पपुलिष्ट’ हरुको हातमा गएको बताएका छन् ।
शनिबार ललितपुरमा पार्टीको जागरण अभियान शुभारम्भ कार्यक्रममा पोखरेलले
पार्टीभित्रको अन्तरसंघर्ष र विभाजनबाट उत्पन्न निराशाको फाइदा पपुलिष्टहरुले उठाएको बताए ।
नेकपा गठनका बेला जनतामा जगाइएको आकांक्षा पूरा हुन नसक्नु, पार्टीभित्रको तीव्र अन्तरसंघर्ष, नेकपा विघटन र एमालेको विभाजनका कारण जनतामा राजनीतिक निराशा बढेको उल्लेख गरे ।
पोखरेलले पार्टी विभाजनपछि एकअर्कामाथि गरिएका दोषारोपणले कम्युनिष्ट पार्टीप्रतिको जनताको विश्वासमा कमी आएको स्वीकार उनले गरे ।
‘नेकपा गठनका समयमा हामीले जागृत गरेको आकाङ्क्क्षा, नेकपाभित्रको अन्तरसङ्घर्ष, नेकपाको विघटन र त्यसपछि एमालेको विभाजनका कारण उत्पन्न भएको निराशा नै आजको पपुलिजमको जन्मको एउटा महत्वपूर्ण आधार हो’, पोखरेले भने ।
पोखरेलले एमालेसँग महिला र नयाँ पुस्ता चिढिएको बताए ।
भदौ २३ मा प्रहरीको गोलीबाट प्रदर्शनकारी बालबालिका मारिएका विषयले महिलाहरु भड्किएको उनको भनाइ थियो ।
उक्त घटनालाई गलत रुपमा चित्रण गरिँदा महिलाहरू उद्वेलित भएर पार्टीलाई साथ दिँदै आएका महिलाहरु समेत टाढिएको स्वीकार गरे ।