काठमाण्डु– एमाले सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङसँग एमालेले एक–एक हिसाब गर्ने चेतावनी दिएका छन् ।
शनिबार ललितपुरमा आयोजित पार्टीको जागरण अभियान उदघाटन कार्यक्रममा बस्नेतले बालेन र सुधनको एक–एक हिसाब राखिएको बताए । उनले एक–एक गरी हिसाब चुक्ता गर्ने पनि बताए ।
एमाले र एमालेका नेताहरुप्रति बालेन र सुधनले प्रतिशोध साँधेको आरोप उनले लगाए ।
बालेन र सुधनले प्रधानमन्त्री र मन्त्रीको सपथ लिएको २४ घण्टा नबित्दै आफ्ना अध्यक्ष केपी ओलीलाई पक्राउ गरिएको भन्दै उनले त्यसको हिसाब गरिने चेतावनी दिए ।
‘सपथ ग्रहणको २४ घण्टा पनि बित्न नपाउँदै हाम्रा श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्ने कुरा गर्ने बालेन र सुधनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ’, बस्नेतले भने, ‘तिमीहरूसँग यसको हिसाब हुनेछ । एक हुन्छ, दुई हुन्छ, तीन हुन्छ ।’
बस्नेतले उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गरिएकामा पनि आपत्ति जनाए । उनले विवादित व्यवसायी कलमकिशोर मालपानीको ८ करोड मूल्य पर्ने गाडी चढेका बालेन्द्र शाह (बालेन) अहिले उनलाई चोख्याउने खेलमा लागेको आरोप लगाए ।
‘विष्णु पौडेलमाथि वाहियात आरोप लगाएर थुनिएको छ । हिजो मालपानीको ८ करोड रुपैयाँको गाडी चढ्ने बालेन शाह आज अख्तियारबाट मालपानीलाई चोख्याउने अभियानमा लागेको छ । हिजो दीपक भट्टसँग शेयर लिने सुदन गुरुङ आज ढुक्कसँग हिँडिरहेको छ’, उनले भने, ‘अहिले समाचार सुन्दैछौँ–उनी बेपत्ता भएका रे । कुकर्म गर्नेहरू स्वाभाविक रूपमा बेपत्ता हुनेवाला छन् ।’
उनले आफ्नो पार्टी र नेताहरुविरुद्ध राज्यस्तरबाटै नियोजित भ्रम फैलाउने क्रम जारी राखिएको बताए । डिजिटल ‘प्लाटफर्म’ मार्फत एमालेविरुद्ध प्रहार भइरहेको उनको भनाइ थियो ।
बस्नेतले डिस्कोर्ड च्यानल, हामी नेपाल, बर्बरा फाउण्डेसन र र अमेरिकन युथ काउन्सिलजस्ता संस्थाहरू वैदेशिक शक्तिको आडमा नेपालविरुद्ध परिचालित भएको आरोप लगाए ।
‘भदौ २३ र २४ गतेका घटना नेपालमाथिका आक्रमण थिए । ती घटनामा डिस्कोर्ड च्यानलको प्रयोगदेखि लिएर वी आर नेपाली, बारबरा फाउण्डेसन र अमेरिकन युथ काउन्सिल जस्ता साम्राज्यवादी देशसँग आवद्ध भनिएका समूह तथा सुदन गुरुङद्वारा परिचालित पङ्क्तिहरू प्रयोग गरेर नेपालमाथि हमला गरिएको थियो,’ बस्नेतले भने, ‘त्यहाँ बम बनाउन सिकाइएको थियो, घर जलाउन सिकाइएको थियो । सिंहदरबार जलाइयो, संसद जलाइयो, सर्वोच्च अदालत जलाइयो, निजी उद्योग तथा कारखानाहरू जलाइए र हाम्रा घरहरू पनि जलाइए ।’