एसीसी प्रिमियर कप: नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य

काठमाण्डु टुडे २०८१ वैशाख ८ गते १८:०४ मा प्रकाशित

काठमाण्डु, ७ वैशाख– ओमानमा जारी एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानको लागि भइरहेको खेलमा नेपालले हङहङसामु जितका लागि १ सय ४० रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३९ रन बनाउन सफल भएको थियो । नेपालका लागि फेरि एक पटक दीपेन्द्रसिंह ऐरीले मात्र २९ बलमा सर्वाधिक ४४ रन बनाउन सफल भएका थिए ।

उनले यस क्रममा ४ चौका र ३ छक्का प्रहार गरेका थिए । नेपालले आज शनिबारको खेलमा पनि खराब सुरुवात गरेको थियो । कुशल भुर्तेल फेरि एक पटक शून्य रनमा आउट भए ।

त्यसपछि तेस्रो ओभरमा सोमपाल कामी १६ रन मात्र बनाउन सफल भएका थिए । लगत्तै ५ रन बनाएर आशिफ शेख पनि पभेलियन फर्किए । त्यसपछि कप्तान रोहित पौडेल र सन्दीप जोराले नेपालको इनिङ्स सम्हालने प्रयास गरेका थिए ।

आजको खेलमा जोराले २३ बलमा २२ रन बनाए भने कप्तान पौडेलले १९ बलमा २१ रन बनाएर आउट भएका थिए । यस्तै कुशल मल्ल १३ रनको योगदान दिँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

हङकङका आयुश शुक्लाले ३ तथा अतिक इक्बाल, यासिम मुर्तजा र इशान खानले १–१ विकेट लिन सफल भएका ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us