बिस्कुट खान दिने लोभ देखाएर छिमेकीकी ३ वर्षीया छोरीको हत्या

काठमाण्डु टुडे २०८१ वैशाख १७ गते २१:४२ मा प्रकाशित

काठमाण्डु, १७ वैशाख– सिरहामा आमाछोरी र बाबु मिलेर तीन वर्षीया बालिकाको हत्या गरेका छन् ।

सिरहा नगरपालिका–१८ की रमेश यादवकी तीन वर्षीया छोरी रिया कुमारीको छिमेकीले घाँटी थिचेर हत्या गरेका हुन् । हत्या आरोपमा प्रहरीले सिरहा नगरपालिका–१८ जरूवा लक्ष्मीनिया टोलकी ४७ वर्षीया सोनादेवी यादव र उनकी छोरी पूजाकुमारीलाई पक्राउ गरेको हो ।

घटनाका आरोपी सोनावतीका श्रीमान ७२ वर्षीय धनिकलाल यादव फरार छन् । घर अगाडि खेलिरहेकी रिया गत १२ वैशाखमा एकाएक हराएकी थिइन् । खोजबिनका क्रममा १४ वैशाखमा छिमेकी धनिकलालको घरमा बालिकाको शव फेला परेको थियो ।

सिरहा प्रहरी प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाले प्लाष्टिकको बोराभित्र पोको पारेर राखिएको अवस्थामा रियाको शव भेटिएको जानकारी दिए ।

पारिवारिक झगडाको रिसमा धनिकलाल र उनका परिवार मिलेर रियाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसनधानबाट खुलेको छ । सापकोटाका अनुसार खेल्दै गरेकी रियालाई बिस्कुट खान दिने प्रलोभनमा पारी घरमा बोलाएर घाँटी थिची हत्या गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us