हुम्लाको दुईवटा गाउँपालिकामा दैनिक १८ घण्टा लोडसेडिङ

रासस २०७८ माघ ११ गते १६:३३ मा प्रकाशित

हुम्ला, ११ माघ–  हुम्लाको दुईवटा गाउँपालिकालाई सेवा दिँदै आएको हेल्दुम साना जलविद्युत् आयोजनाले दैनिक १८ घण्टाभन्दा बढी विद्युत् भार कटौती गर्दै आएको छ । लामो समयसम्म विद्युत् भार कटौतीको मारमा पर्दै आएका यहाँका नागरिकलाई विद्युत् नियमित नहुँदा दैनिक जीवन यापनमा समस्या झेल्नुपरेको छ ।

पाँचसय किलोवाट क्षमताको उक्त आयोजनाले हिउँदका समयमा पानीको अभाव देखाउदैँ सिमकोटमा लामो सयमसम्म विद्युत् भार कटौती गर्दै आएको हो । दिनमा १८ भन्दा बढी विद्युत् भार कटौती हुन थालेपछि यहाँका स्थानीयवासीले विरोध पनि जनाउन थालेका छन् । उता उक्त आयोजनाले भने पानीको अभावका कारण माग अनुसार विद्युत् आपूर्ति गर्नसकेको जनाएको छ ।
जिल्ला सदरमुकाम सिमकोट र आसपासका गाउँपालिकामा ७० भन्दा बढी उद्योग व्यवसायीले नेपाल सरकारको इजाजतपत्र लिएर उद्योग सञ्चालन गर्दै आएका छन् । एक दशकभन्दा लामो समयदेखि अठार घण्टासम्मको विद्युत् भार कटौतीले जिल्लाका उद्योग व्यवसायी सङ्कटमा परेका छन् ।
विद्युत् सेवा नियमित नहुँदा सदरमुकाममा रहेको सिमकोट गाउँपालिकासहित सरकारी तथा गैरसरकारी कार्यालयका कामकाजमा पनि असर परेको छ । समयमै विद्युत् सेवा उपलब्ध नहुँदा प्रशासनिकदेखि अन्य काम गर्न कठिन भएको र अति आवश्यक काममा पनि बाधा पुग्ने गरेको सरोकार व्यक्तिको गुनासो छ ।
सिमकोटमा रहेका इलोक्ट्रोनिक पसलमासमेत विद्युत् भार कटौतीको असर परेको छ । उनीहरूले विद्युत्बाट प्रिन्ट, फोटोकपी, इमेल फ्याकलगायत काम गर्न कठिन भएको सदरमुकामस्थित कालिञ्चोक इलोक्ट्रोनिक पसलका सञ्चालक सुनमति सिंहले बताए । नियमित विद्युत् नहुँदा पसलमा सेवा लिन आउने सेवाग्राहीलाई समयमै सेवा दिन नसकेको उनको गुनासो थियो ।
एसइई तयारी गरिरहेका विद्यार्थीलेसमेत विद्युत्को विद्युत् भार कटौतीको मार खेपिरहनु परेको छ । अठार घण्टासम्म विद्युत् भार कटौती हुँदा राति अबेरसम्म पढ्न समस्या हुने गरेको विद्यार्थीको गुनासो छ । प्रायजसो दिनमा र राति १० बजेसम्म विद्युत् नहुँदा आफूहरूले यसको मार खेप्नुपरेको उनीहरूको भनाइ थियो ।
केन्द्रका दुई हजार १०० भन्दा बढी ग्राहक रहेको उक्त आयोजनामा पानीको स्रोत कम भएकै कारण २०६५ सालमा सञ्चालनमा आएदेखि नै आयोजनाले विद्युत् भार कटौती गर्नुपर्ने बाध्यता आइपरेको विद्युत् वितरण केन्द्रका प्रमुख साजन ऐडीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us