काँग्रेसमा आवेग र उत्तेजना देखिएको ज्ञवालीको आरोप 

काठमाण्डु टुडे २०७७ फागुन २३ गते २०:०५ मा प्रकाशित
काठमाण्डु, २३ फागुन–परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली काँग्रेसले संसद बैठकमा अध्यादेश प्रस्तुत गर्न नदिएर असंसदीय अभ्यास गरेको आरोप लगाएका छन् ।
आइतबारको संसद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ज्ञवालीले काँग्रेस सांसदहरुमा आवेग र उत्तेजना देखिएको टिप्पणी गरे ।  ‘सदनको सर्वोच्चतालाई समेत अस्वीकार गर्दै अध्यादेश सदनमा टेबल गर्ने कुरामा पनि साथीहरुले जुन ढंगले आपत्ति जनाउनु भयो, यो असाध्यै असंसदीय अभ्यास हो’, ज्ञवालीले भने, ‘यसले साथीहरुमा एक खालको उत्तेजना र आवेग रहेको देखिन्छ ।’
पेस भएपछि पारित गर्ने वा नगर्ने भन्ने दायित्व संसदको हुने भन्दै उनले पहिलो बैठकमा अध्यादेश प्रस्तुत गर्ने परम्परा रहेको स्मरण गरे । उनले संसदमा अशोभनीय गतिविधि भएको भन्दै सरकार संयमित रुपमा अघि बढ्ने स्पष्ट गरे । संसदका अधिवेशन प्रक्रिया संगत र मर्यादित रुपमा अघि बढ्नुपर्नेमा उनको जोड थियो ।
सरकारले संसद छलेर असंवैधानिक रुपमा ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ताको माग गर्दै काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) का सांसदले नाराबाजीसहित रोष्ट्रम घेराउ गरेपछि संसद बैठक २६ फागुनसम्मका लागि स्थगित भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us