पानीको अभावमा बिहे रद्द

काठमाण्डु टुडे २०७० माघ २४ गते २:२४ मा प्रकाशित

no-water-tapकञ्चनपुर,  माघ – बिहेको तयारी पूरा भइरहेका बेला एक्कासि केटी पक्षबाट बिहे हुन नसक्ने सन्देश आएपछि गोदावरी गाविसका रहने बिकको घरमा सन्नाटा छायो ।

माघ २१ गते श्रीपञ्चमीको दिन दुलही लिन जन्ती जाने तयारी अन्तिम चरणमा पुगेको थियो । केटी पक्षबाट आएको फोनले छरछिमेकसमेत स्तब्ध भए ।

बिहे रोकिनुको कारण सुनेपछि भने गाउँका सबैले बेइजयती महसुस गरे तर बदाला लिने वा उजुरी गर्ने अवस्थै रहेन । केटी पक्षबाट भनियो, ‘पानी लिन ५ किलोमिटर टाढा जानुपर्ने रहेछ, यस्तो दुःख हुने ठाउँमा छोरी दिन सक्तिनँ, दुःख नमान्नु होला ।’

कुरा छिनेर जन्ती पठाउन लागेकै बेला बिहे रोकिएको यो पहिलो घटना भए पनि गाउँका युवालाई कन्या खोज्न गाह्रो भइरहेको घटना भने गाउँलेका लागि अनौठो होइन ।

‘खानेपानीका लागि ५ किलोमिटरको दूरी तय गर्नुपर्ने बाध्यताले यहाँ कसैले पनि छोरी-चेली दिन मान्दैनन्,’ गाविसका पूर्व अध्यक्ष भानसिंह बिकले भने, ‘खानेपानीका लागि दैनिक ५ किलोमिटर टाढा पुगे पनि स्वाच्छ पानी पाइदैन् ।’

खानेपानी टाढा हुँदा बिहेबारीलाई मात्र समस्या परेको होइन्, खानेपानी बोक्नुपर्ने बाध्यताले विद्यालय जाने उमेरका केटाकेटी पढ्नबाट वञ्जित भएका पनि छन् ।

पाँचथरमा छोरी दिन्छन्, पानी पाउन मुस्किल

रानीगाउँ-८ की ३४ वर्षकी मायादेवी सम्बाहाम्फे एक गिलास खानेपानी दिन हिच्किचाइन् । प्यासले हरहर भएको बटुवाले ‘जति पैसा परे पनि एक गिलास पानी दिन’ अनुरोध गरेपछि नजिकै बसेकी अन्दाजी १५-१६ वर्षकी छोरीलाई देखाउँदै उनले भनिन्, ‘बरु यो छोरी दिन्छु पानी दिन सक्दिनँ ।’

रानीगाउँकै सावित्रा सम्बाहाम्फे पनि कसैले माग्दैमा पानी दिन नसक्ने बताउँछिन् । ‘पानी दिन मन भएमात्र के गर्नु, कहिल्यै घरमा पानी हुन्न्,’ उनले भनिन् ‘बनिबुतो गरेको पैसाले पानी जोहो गरेको हुन्छ, कसरी दिन सकिन्छ ?’

खानेपानीको मुहान सुकेपछि रानीगाउँमा समस्या बढेको छ । मुहान सुकेपछि यहाँका बासिन्दा चर्को मूल्यमा पानी किनेर दैनिकी चलाउन बाध्य भएका छन् । ‘प्रतिलिटर अढाई रुपैयाँका दरले पानी किन्छौं,’ मायादेवीले भनिन, ‘व्यापारीहरुले सवारी साधनबाट कोसी नदीको पानी गाउँमा ल्याएर बिक्री गर्छन ।’ उनका अनुसार सामान्य परिवारले पनि प्रतिदिन २ सय ५० लिटर पानी किन्ने गरेको छ ।

– कारोबार दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us