एमाले स्थायी समिति बैठक बस्दै

काठमाण्डु टुडे २०७० माघ १६ गते २:४६ मा प्रकाशित

balkhuकाठमाण्डु, १६ माघ – नेकपा एमाले स्थायी समितिको बैठक विहीबार पनि बस्दैछ । संसदीय दलको नेता चयनमा सहमति जुटाउन बैठक बस्न लागेको हो ।

अध्यक्ष झलनाथ खनाल र नेता केपी ओलीले संसदीय दलको नेतामा आ–आफ्नो दावी नछोडेपछि सहमति बन्न सकिरहेको छैन ।

वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव गौतम खनाललाई समर्थन गर्न सकारात्मक देखिएपनि ओलीले दावी छाडेका छैनन् ।

ओली पक्षले आगामी महाधिवेशन पछिको नेतृत्व आफूलाई दिन सहमति जनाए खनाललाई संसदीय दलको नेता बनाउन सकिने संकेत गरेपनि खनालले सो प्रस्ताव स्विकारेका छैनन् ।

सोही कारण ओलीपक्ष चुनावमै जाने रणनीतिमा लागेको स्रोतले जनाएको छ । एमालेमा अहिलेसम्म अध्यक्ष नै संसदीय दलको नेता बन्दै आएको इतिहास छ ।

साथै विहीबारको बैठकमा नेपाली कांग्रेससँग सरकार गठनका लागि वार्ता गर्न समिति बनाउने तयारीसमेत भएको एक नेताले जानकारी दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us