निर्वाचन भड्किलो बन्दै गएको नेताहरुको स्वीकारोक्ति

काठमाण्डु टुडे २०७० कार्तिक ९ गते ९:२५ मा प्रकाशित

election nepalचितवन– पछिल्लो समय निर्वाचन निकै खर्चिलो र भड्किलो बन्दै गएको छ । निर्वाचन आयोगले तोकेको रकमभन्दा धेरै बढी खर्च लाग्ने गरेको स्वयम् दलका नेताहरु बताउँछन् ।

आयोगले प्रत्यक्षतर्फका उम्मेदवारलाई रु १० लाखसम्म र समानुपातिक उम्मेदवारका लागि रु. एक लाखसम्म मात्र खर्च गर्न पाउने व्यवस्था गरेको छ । यद्यपि चुनावी प्रचारमा कम खर्च गर्ने प्रतिस्पर्धी उम्मेदवारले पनि करोडको हाराहारीमा खर्च गर्नुपर्ने अवस्था छ ।

दैनिक रुपमा प्रचारका क्रममा प्रयोग गरिने युवामा दलले बढी खर्च गर्ने गरेका छन् । कतिपय युवा दिनहुँ पार्टी परिवर्तन गरी प्रचारमा सामेल हुन्छन् । त्यस्ता युवालाई साँझमा चित्त बुझाउन नसके भोलिपल्ट अर्काे पार्टीमा लाग्ने गरेको उम्मेदवारको गुनासो छ । यसका अतिरिक्त प्रचारका क्रममा हिँड्ने कार्यकर्ताको खाना, सवारीसाधन, प्रचार सामग्रीका साथै टोल, क्लब, आमा समूह, मठमन्दिर आदिलाई दिनुपर्ने चन्दा अर्काे ठूलो खर्च हो ।

नेकपा (एमाले) चितवनका अध्यक्ष जगन्नाथ थपलियाले खर्च गर्न सक्ने आँट नभएरै आफूले उम्मेदवारीको दाबी नगरेको बताए । उनले भने, ‘रु एक करोडभन्दा घटीले चुनाव लड्न सकिन्न, आफूसँग पैसा छैन, त्यसैले आँटै गरिन ।’ स्रोतका अनुसार थपलियासँगै अन्य केही नेताले पनि अघिल्लो निर्वाचनको ऋणसमेत तिर्न नसकेको भन्दै टिकट लिने आँट गरेनन् । उम्मेदवारको महत्वकाङ्क्षा बढेको बताउँदै अध्यक्ष थपलियाले पार्टीले आन्तरिक व्यवस्थापन चुस्त बनाउन नसके उम्मेदवारको आर्थिक अवस्था नराम्रोसँग खस्किने बताए ।

नेपाली काँग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङले चुनावी खर्च विकृतिको रुपमा बढेको बताए । व्यवस्थापन नै हम्मेहम्मे भएकाले कसरी धान्ने भन्ने विषयमा पार्टीमा छलफल भइरहेको उनले जनाए । कतिपय नेताले टिकट लिने समयमै खर्च गर्न सक्ने प्रतिबद्धता जनाएर टिकट लिएको बताइएको छ ।

नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको उम्मेदवारी चितवन क्षेत्र नं ४ मा छ । कोइरालासँग पैसा छैन, व्यवस्थापन कसरी गर्ने पिरलो परेको गुरुङको तर्क छ । दैनिक निकै बढी खर्च रहेको बताउँदै सभापति गुरुङ यो विकृतिको अन्त्य हुन नसके सामान्य मान्छे चुनाव लड्न नसक्ने बताउँछन् ।

गत निर्वाचनमा निकै खर्च गरेको भनिएको एकीकृत नेकपा (माओवादी)ले पनि यस पटकको चुनाव खर्च धान्न गाह्रो भएको स्वीकारेको छ । जिल्ला संयोजक अविनाशले स्थानीयस्तरमा लाग्ने खर्च त्यहीँ व्यवस्थापन गर्न लगाएको बताए । यद्यपि अन्य दलको भन्दा खर्च र तडकभडक माओवादीको पनि कम छैन । स्रोतका अनुसार माओवादी उम्मेदवारको खर्च अन्य दलका उम्मेदवारको भन्दा धेरै बढी छ । जिल्लास्तरबाट चिठी पठाएर पैसा नमागेको बताउँदै संयोजक अविनाशले देश पुँजीवादतर्फ उन्मुख भएकाले चुनावी तडकभडक बढेको स्वीकार गरे । सामान्य व्यक्ति चुनाव लड्न सक्ने अवस्था नरहेको उनको ठहर छ ।

नेपाली काँग्रेस चितवन क्षेत्र नं २ का उम्मेदवार शेषनाथ अधिकारीले निर्वाचन आयोगले तोकेको रकमबाट चुनावी खर्च पु¥याउन कठिन भएको बताए । तर आफूले त्योभन्दा बढी खर्च नगर्ने अधिकारीले बताए । आचारसंहिताको डरले कुनै पनि दलले बढी खर्च लाग्ने स्वीकारेका छैनन् ।

दलहरुले गर्ने खर्चको बढी हिस्सा व्यवसायीको चन्दा हो । नेपालजस्तो गरिब देशमा व्यवसायीलाई मार पारेर दलहरुले भड्किलो निर्वाचन गर्नु दुर्भाग्य भएको उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराई बताउँछन् । प्रत्यक्ष र अप्रत्यक्ष रुपमा व्यवसायीहरुबाट  सबै दलले पैसा असुल गरिरहेको भन्दै उनले ओरालो लागेको आर्थिक क्षेत्रलाई चुनावी खर्च निकै गरुङ्गो भएको बताए ।

दलहरुले कतिपय व्यवसायीलाई रकम तोकेरै चन्दा मागेका छन् । एक व्यवसायीले चुनावमा उठ्ने र उठ्न नदिने दुवैका लागि तोकेर चन्दा मागेपछि भाग्नुपर्ने अवस्था आएको दुखेसो गरे । कतिपय ठूला व्यवसायीहरु मोबाइल नम्बर परिवर्तन गरी दलहरुको सम्पर्कमा नआएको बताइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us