सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु

काठमाण्डु टुडे २०८१ वैशाख ५ गते १६:२८ मा प्रकाशित

काठमाण्डु, ५ वैशाख– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी १५ वैशाखमा इलाम–२ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनमा एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई मत दिएर विजयी गराउन मतदाताहरूलाई आग्रह गरेका छन् ।

आज बुधबार इलामको मंगलबारेमा भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन । उनले इलामको चौतर्फी विकास र सुवास नेम्वाङको इलाम बनाउने सपना साकार पार्न पनि सुहाङलाई निर्वाचित गर्नुको विकल्प नभएको बताए ।

ओलीले इलामवासीले सुहाङलाई जिताए इलामको सिङ्गो विकासका लागि आफू र आफ्नो पार्टी नेकपा एमालेले जिम्मा लिने बताएका छन । अध्यक्ष ओलीले भने, ‘इलामको चौतर्फी विकास नेकपा एमालेले गर्छ । सुहाङको जिम्मा म लिन्छु, भोट सूर्यलाई दिनुस्’, ओलीले भने, ‘सुहाङले सम्पत्ति कमाएर थुपार्ने होइन, इलामको विकास गर्ने हो ।’

उनले सुहाङले चुनाव जितेर पैसा कमाउने नभई देश विकास गर्ने पनि बताए । ‘पैसा कमाउने भए यो उकालो ओरालो किन कुद्नुपर्थ्यो, सोफामा बसेर एक दुई वटा मुद्दा हेरेर पनि कमाउन सक्थे’, उनले भने, ‘इलाम बनाउने अभियानलाई पूर्णता दिन भनेर सुहाङ उम्मेदवार बनेका हुन् । सुहाङले हार्दा सुहाङलाई घाटा हुँदैन, इलामलाई हुन्छ ।’

अध्यक्ष ओलीले एमालेले जनतालाई नछक्याउने भन्दै जे भन्छ त्यही गर्ने पनि बताएका छन । उनले भने, ‘हामी छक्कयाउन आएका होइनौ, मैले ५९ वर्षदेखि राजनीति गरेको । टुप्पामा बसेर राजनीति गर्नेले कुनै लोभ गर्नुहुँदैन, ‘म बसेको घर म र मेरो श्रीमती बाचुन्जेल बस्छौ त्यसपछि त्यो घर राज्यको हुन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us