इलाममा बजेको सांकेतिक घण्टीले हामी सचेत भएका छौंः रास्वपा

काठमाण्डु टुडे २०८१ वैशाख १८ गते १३:२५ मा प्रकाशित

काठमाण्डु, १८ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इलाम–२ को उपनिर्वाचनमा पराजय हुनुमा पार्टीमा कमीकमजोरी रहेको इंगित गरेको जनाएको छ ।

मतपरिणाम सार्वजनिक भएपछि महामन्त्री मुकुल ढकालले विज्ञप्ति जारी गर्दै केन्द्रीय समितिको आगामी बैठकमा निर्वाचन परिणामबारे गहन समीक्षा गर्ने बताएका छन् ।

मतदाताले घण्टी नबजाएर बजाएको सांकेतिक घण्टीले आफूहरुलाई सचेत तुल्याएको विज्ञप्तिमा उल्लेख छ । ‘पार्टीको केन्द्रीय समितिको आगामी बैठकमा यस निर्वाचनका सम्बन्धमा गहन समीक्षा गर्नेछौं । निर्वाचन परिणामले हाम्रा प्रयासहरूमा कैयन् कमीकमजोरी रहेको इंगित गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘सही समयमा घण्टी नबजाएर बजाइदिनुभएको सांकेतिक घण्टीले हामीलाई सचेत गराएको छ ।’

आफ्नो पक्षमा नतिजा नआए पनि लोकतान्त्रिक प्रक्रियामा जनताद्वारा व्यक्त मतको सम्मान गर्ने रास्वपाले जनाएको छ । ढकालले विजयी उम्मेदवार एमालेका सुहाङ नेम्वाङलाई बधाई दिएका छन् । सुहाङले जनअपेक्षाअनुरुप काम गर्ने विश्वास उनले व्यक्त गरे ।

शनिबार भएको निर्वाचनको मंगलबार बिहान मतपरिणाम सार्वजिनक भएको थियो । सुहाङ २७ हजार ७ सय ७२ मतसहित विजयी भए । रास्वपा उम्मmेदवार मिलन लिम्बूले ५ हजार ५० मत मात्र प्राप्त गरे । उनको जमानत जफत भएको छ । कांग्रेस उम्मेदवार डम्बर खड्काले २१ हजार ९ सय ४२ र पहिचानपक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूले ११ हजार ४ सय ५७ मत प्राप्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us