सोडारीलाई सुदूरपश्चिमको मुख्यमन्त्री बनाउने एकीकृत समाजवादीको निर्णय

काठमाण्डु टुडे २०८१ वैशाख ५ गते १५:५० मा प्रकाशित

काठमाण्डु, ५ वैशाख– पूर्व प्रधानमन्त्री माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ ।

आज (बुधबार) बसेको सचिवालय बैठकले दल नेता सोडारीको नेतृत्वमा सरकार गठन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । सत्ता गठबन्धनमा संकट आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिन तयार भएका थिए । त्यसअनुसार एकीकृत समाजवादीका दल नेता सोडारीले बुधबार बिहानै मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका थिए ।

तर केन्द्रबाट निर्देशन नआएको भन्दै एमाले नेताहरू बिहान बैठकमै गएनन् । सत्ता गठबन्धनका नेताहरूले सोडारीलाई मुख्यमन्त्री बनाउन एमाले नेताहरू तयार नभएको बताएका छन् ।

तर सुदूरपश्चिममा एमाले संसदीय दलका नेता राजेन्द्र रावलले भने सरकार गठनबारे पार्टी नेतृत्वले कुनै निर्देशन नदिएकाले अहिले केही निर्णय नभएको जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us