१३० किलो गाँजा बोकेर लैजाँदै गर्दा पक्राउ परे ७ जना

काठमाण्डु टुडे २०८१ वैशाख ५ गते १३:५४ मा प्रकाशित

काठमाण्डु, ५ वैशाख– प्रहरीले मकवानपुरबाट १३० किलो८ गाँजा बोकेर लग्दै गर्दा सात जनालाई पक्राउ गरेको छ। मंगलबार राति करिब १० बजेतिर मनहरी गाउँपालिका–४ स्थितबाट सात जनालाई गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा राक्सिराङका १५ वर्षीय किशोर, १९ वर्षीय टिकाराम प्रजा, कैलाश गाउँपालिकाका २८ वर्षीय बमबहादुर चेपाङ, २७ वर्षीय हरिकुमार प्रजा, २७ वर्षीय विरमान प्रजा, मनहरीका ४४ वर्षीय रामहरि लुइँटेल र ३६ वर्षीय दिपक थापा मगर रहेको प्रहरीले जनाएको छ ।

मंगलबार दिउँसो माथिल्लो मसिने भन्ने ठाउँमा पर्सा राष्ट्रिय निकुञ्जको कोर इलाका नजिकै रहेको वनमा ती सात जना व्यक्तिहरू देखा परेका प्रहरीले जानकारी दिएको छ ।

निकुञ्जबाट खटिएको कर्मचारी र नेपाली सेनाको टोलीले मानिसहरू बोरामा गाँजा बोकेर पैदल हिँडिरहेको देखेका थिए। त्यसरी गाँजा बोकेर जाँदै गरेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।

उक्त खबरपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी वरिष्‍ठ नायब निरीक्षक र इलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरि नायब निरीक्षक रामशरण दुलालको कमाण्डमा टोली खटिएको थियो ।

उक्त टोलीले राति सात जनालाई बोरामा राखेर १३० किलो गाँजा बोकेर लग्दै गरेको अवस्थामा पक्राउ गरेको हो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us