जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र

काठमाण्डु टुडे २०८१ वैशाख ५ गते ११:१७ मा प्रकाशित

काठमाण्डु, ५ वैशाख– सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष समेत रहेका गीतेन्द्रबाबु (जीबी) राईलाई पक्राउ गरेर पठाइदिन मलेसियन सरकारलाई पत्राचार गरिएको छ ।

प्रहरी प्रधान कार्यालयको अनुरोधमा गृह मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालयले मलेसियामा ‘कूटनीतिक नोट’ पठाएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले जानकारी दिएका छन ।

परराष्ट्र मन्त्रालयले मलेसियामा लुकेर बसेका राईलाई पक्राउ गरेर ‘सुपुर्दगी गर्न’ कूटनीतिक च्यानलबाट आग्रह गरेको छ । अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’बाट उनीविरुद्ध रेड नोटिस जारी भईसकेको छ ।

यसअघि १३ माघमा उनीविरुद्ध डिफ्युजन नोटिस जारी भएको थियो । पोखरास्थित सूर्यदर्शन सहकारीको निक्षेप अपचलन गरेको कसुरमा डिफ्युजन नोटिसको आधारमा उनी मलेसियामा ‘लोकेट’ भएका हुन् ।

मलेसियाबाट पक्राउ गरेर नेपाल ल्याउन दुई देशका परराष्ट्र मन्त्रीहरूको बिचमा कुराकानी गर्ने र त्यसपछि नेपालबाटै प्रहरी पठाएर ल्याउने गरी तयारी भइरहेको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले जानकारी दिएका छन ।

रेड नोटिस जारी भएसँगै इन्टरपोलमा आबद्ध प्रहरी सङ्गठनलाई अपराधी छिटो ‘डिपोर्ट’ गरिदिने दायित्व बढी हुन्छ । रेड नोटिस जारी गर्न आवश्यक कागजात प्रहरीले जिल्ला अदालत कास्कीबाट प्रमाणित गराएर इन्टरपोलमा पठाएको थियो ।

सूर्य दर्शन सहकारीका वर्तमान अध्यक्ष बाग्लुङ घर भएका थान बहादुर बुढामगर, ओखलढुङ्गा घर भएका पूर्व अध्यक्ष भूपेन्द्र राई र पूर्व सदस्य शिव बहादुर गुरुङ विरुद्ध पनि डिफ्युजन नोटिस जारी भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us