मधेश सरकारबाट बाहिरियो लोसपा, मुख्यमन्त्री यादवलाई विश्वासको नदिने

काठमाण्डु टुडे २०८१ वैशाख ४ गते १७:०८ मा प्रकाशित

काठमाण्डु, ४ वैशाख– मधेश प्रदेश सरकारबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाहिरिएको छ । आज मंगलबार बसेको लोसपाको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

लोसपाको आजको बैठकले सरकारबाट बाहिरिने र मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मतसमेत नदिने निर्णय गरेको छ । दलको निर्णयसँगै वन तथा वातावरणमन्त्री रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन् ।

मधेश प्रदेश सरकारमा लोसपाका ९ जना सांसद छन् । त्यसमध्ये कुर्मी मात्रै सरकारमा गएका थिए । लोसपाले अर्को मन्त्रालयको माग गर्दै आएको थियो । मुख्यमन्त्री यादवले विश्वासको मत लिनको लागि आज प्रदेश सभाको बैठक बोलाइएको छ ।

दिउँसो १ बजे बोलाइएको बैठक एक घण्टा ढिला गरी सुरू भएको थियो । लगत्तै जनमत पार्टीका सांसदले अवरोध गरेपछि १० मिनेटका लागि स्थगित बैठक अझै सुरू भएको छैन ।

प्रदेश सभा बैठक चलाउन यतिबेला सर्वदलीय बैठक जारी छ । १०७ सदस्यीय प्रदेश सभामा एमालेका सभामुखसहित २४, नेपाली कांग्रेसका २२, जसपाका १९, जनमत पार्टीका १३, माओवादी केन्द्र र लोसपाका ९/९ र एकीकृत समाजवादीका ७ सांसद छन् ।

यस्तै नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी पार्टीका एकरएक र एक जना स्वतन्त्र सांसद छन् । मधेशमा सरकार गठनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us