कानुन कार्यान्वयनबाट मात्रै सुशासन आउँछ: प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु टुडे २०८१ वैशाख ४ गते १५:५८ मा प्रकाशित

काठमाण्डु, ४ वैशाख– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुनको सफल कार्यान्वयनबाट मात्रै देशमा सुशासनको प्रत्याभूति गर्न सकिने दाबी गरेका छन ।

आज (मंगलबार) ‘सुशासनका चुनौती र सरकारको आगामी कार्यदिशा’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन ।

उनले देशलाई सुशासनको बाटोमा अगाडि बढाउन कानुन कार्यान्वयनको पाटोलाई विशेष ध्यान दिनुपर्ने पनि बताएका छन । उनले मुलुकको समग्र विकास, नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य रहेको बताएका छन ।

प्रचण्डले भ्रष्टाचार नियन्त्रणमा संलग्न निकायलाई कानुन, जनशक्ति, स्रोत र साधनसहित अधिकार सम्पन्न बनाएर सदाचार प्रत्याभूति गर्ने अवस्था सिर्जना गरिने प्रतिवद्धतासमेत व्यक्त गरेका छन ।

उनले भने, ‘कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अगाडि बढाउन सरकार प्रतिवद्ध छ, ‘यो सरकारको प्रमुख प्राथमिकता नै सुशासन, सामाजिक न्याय र समृद्धि हो ।’

प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्ने सरकारको नीतिलाई व्यवहारमा रूपान्तरण गर्न तीनै तहका सरकार, निजी क्षेत्र, नागरिक समाज, सञ्चार जगत, आम नागरिक सबैको साथ आवश्यक रहेको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us