एकीकृत समाजवादीले लियो लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता

काठमाण्डु टुडे २०८१ वैशाख ४ गते १५:४८ मा प्रकाशित

काठमाण्डु, ४ वैशाख– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ ।

एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारीले मंगलबार प्रदेश प्रमुख नाजिर मियाँलाई भेटेर समर्थन फिर्ता लिएको पत्र बुझाएका छन ।

योसँगै मुख्यमन्त्री नियुक्तिका लागि कोर्स परिवर्तन हुने भएको छ । यसअघि कांग्रेसका कमल शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले १० दिनको समय दिएर दलहरूलाई मुख्यमन्त्रीका लागि दाबी पेस गर्न भनेका थिए ।

उक्त समयमा कांग्रेसको समर्थनमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र एमाले माओवादीको समर्थनमा सोही पार्टीका कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पसे गरेको थियो । मंगलबार एकीकृत समाजवादीको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता दीर्घ सोडारीले प्रदेश प्रमुख नजिर मियालाई एक पत्र बुझाउँदै लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन नरहेको जानकारी गराएको हो ।

यसअघि गत आइतबार चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गर्दा आफ्नो दलसँगै नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थन रहेको उल्लेख गरेका थिए ।

त्यसको दुई दिनपछि एकीकृत समाजवादिले चौधरीलाई समर्थन नरहेको भन्दै प्रदेश प्रमुखलाई पत्र दिएका हुन् । सत्तारुढ गठबन्धनमा आफूहरुलाई मुख्यमन्त्री दिने सहमति कार्यान्वयन नभएको भन्दै एकीकृत समाजवादीले सुदूरपश्चिममा कांग्रेससँग मिलेर सरकार बनाउन नाउपाको रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीलाई समर्थन दिएको थियो ।

तर  काठमाण्डुमा सत्ता गठबन्धन जोगाउन सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने विषयमा छलफल भएपछि यसअघि दिएको समर्थन फिर्ता लिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us