शिक्षा क्षेत्रको नियुक्तिमा हस्तक्षेप हुँदैन, भइहाले कारबाही हुन्छ: शिक्षामन्त्री श्रेष्ठ

काठमाण्डु टुडे २०८१ वैशाख ४ गते १५:४१ मा प्रकाशित

काठमाण्डु, ४ वैशाख– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयहरूको नियुक्तिको प्रक्रियामा पदेन सहकुलपति (मन्त्री) भएपनि आफुले कुनै पनि प्रकारको हस्तक्षेप नगर्ने बताएकी छिन् ।

आज (मंगलबार) मन्त्रालयमा विश्वविद्यालयहरूको बारेमा विज्ञहरूको सुझाव लिँदै उनले यस्तो बताएकी हुन । उनले आफू र आफ्नो पार्टी तर्फबाट हस्तक्षेप नहुने प्रतिबद्धता व्यक्त गर्दै अरूबाट भएको छ भने पनि कारबाही गर्ने पनि बताएकी छन । उनले भनिन्, ‘म कसैलाई फोन गरेर यसलाई नियुक्ति गर, उसलाई नगर भन्दिनँ ।

मेरो पार्टीको कसैलाई त्यस्तो फोन आयो भने मलाई भन्नु भनेको छु । यस्तो काम मेरो पार्टीबाट र मबाट हुँदै हुँदैन । अरूले गरिहालेपनि मलाई भन्नु, म पदेन सहकुलपति छु । त्यसैले मापदण्ड बनाएर नियुक्ति प्रक्रिया समान गर्नको लागि प्रयोग गर्छु ।

यो मेरो प्रतिबद्धता भयो ।’ उनले विद्यमान कानुन अनुसार कर्मचारी र शिक्षकलाई राजनीतिक दलको सदस्य बस्न नमिल्ने भन्दै त्यस्तो पाइए कारबाही गर्ने प्रतिबद्धता पनि बताएकी छन ।

उनले भनिन्, ‘हाम्रो कानुनमा राखिएको छ र स्पष्ट रूपमा भन्छ कि शिक्षक र कर्मचारीहरू राजनीतिक पार्टीको कुनै पनि कार्यकारीमा बस्नु हुँदैन । शिक्षा ऐनले यो कुरा भन्छ ।

राजनीतिक दल सम्बन्धीको ऐनले कर्मचारी र शिक्षकलाई सदस्यता नदिनु भन्छ । यो कानुनमा नभएको कुरा होइन, यो हामीले कसरी गर्ने भन्ने कुरामा ध्यान दिन नसकेको हुनाले गा¥हो भइरहेको मात्रै हो ।

म शिक्षामन्त्रीको हैसियतले ऐनहरू कार्यान्वयन गर्ने काम गरिहाल्छु । त्यसमा मलाई प्रमाणसहित नाम दिनु त्यो कार्यान्वयनको पाटो म अगाडि लग्छु ।

यो मेरो प्रतिबद्धता हो ।’उनले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगका सदस्यहरूको नियुक्ति स्वतन्त्र रूपमा हुने र त्यसमा आफ्नो संलग्न नहुने पनि बताएकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us